मंगल ग्रहका ढुंगाभित्र पाइयो रुबीजस्तै देखिने साना क्रिस्टलहरू, अन्य बहुमूल्य खनिज पनि हुन सक्ने सम्भावना

  • Technology Khabar | १४ चैत्र २०८२, शनिबार
मंगल ग्रहका ढुंगाभित्र पाइयो रुबीजस्तै देखिने साना क्रिस्टलहरू, अन्य  बहुमूल्य खनिज पनि हुन सक्ने सम्भावना

काठमाडौं ।

मंगल ग्रहका ढुंगाभित्र रुबीजस्तै देखिने साना क्रिस्टलहरू लुकेको पाइएको छ र वैज्ञानिकहरूका अनुसार त्यहाँ नीलमजस्ता अन्य बहुमूल्य खनिज पनि हुन सक्ने सम्भावना छ।

पर्सिभेरन्स रोभरबाट प्राप्त अवलोकनका आधारमा खगोलविद्हरूले मंगल ग्रहका ढुंगामा साना रुबीजस्ता क्रिस्टलहरू भेटिएको बताएका छन्।

अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले सन् २०२५ को वसन्तमा गरिएको अवलोकनका आधारमा यो निष्कर्ष सार्वजनिक गरेको हो, जुन टेक्सासमा भएको ५७औँ लुनर एण्ड प्लानेटरी साइन्स कन्फ्रेन्समा मार्च १६ मा प्रस्तुत गरिएको थियो। यी निष्कर्षहरू हाल पीयर रिभ्यू प्रक्रियामा छन् र पछि जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित गरिनेछ।

यो खोज त्यस बेला सुरु भयो जब कार जत्रो आकारको पर्सिभेरन्स रोभरले करिब ४ अर्ब वर्ष पुरानो प्रभाव खाडलको किनारमा पुगेर अन्वेषण सुरु गर्‍यो। त्यहाँ उसले हल्का रङका “फ्लोट रक्स” अर्थात् अन्य स्थानबाट आइपुगेका ढुंगाहरू भेट्यो, जुन सम्भवतः प्रभाव, भूगर्भीय गतिविधि वा पानीसम्बन्धी प्रक्रियाबाट त्यहाँ पुगेका हुन्।

वैज्ञानिकहरूले ती ढुंगामा रहेको खनिज पहिचान गर्न रोभरमा रहेको सुपरक्याम उपकरणको हरियो लेजर प्रयोग गरे। यो लेजरले खनिजलाई उत्तेजित गरेर विशेष तरंगदैर्ध्यमा प्रकाश निकाल्न बाध्य बनाउँछ, जसबाट त्यसको रासायनिक संरचना पत्ता लगाउन सकिन्छ।

विश्लेषण गर्दा तीन वटा ढुंगामा कोरण्डम नामक खनिजको स्पष्ट संकेत भेटियो, जसमा क्रोमियम तत्व मिसिएको थियो। यस्तो संरचना रुबीसँग मिल्दोजुल्दो हुन्छ। तर यी क्रिस्टलहरू निकै साना भएका कारण रोभरको क्यामेराले प्रत्यक्ष देख्न सकेन, र सटीक रासायनिक संरचना पनि निश्चित नभएकाले ती वास्तविक रुबी हुन् कि अन्य प्रकारका कोरण्डम भन्ने स्पष्ट छैन।

कोरण्डम एल्युमिनियम र अक्सिजनबाट बनेको अत्यन्त कडा खनिज हो। शुद्ध अवस्थामा यो रङहीन हुन्छ, तर साना अशुद्ध तत्वहरूले यसलाई विभिन्न रङ दिन्छन्—जस्तै क्रोमियम हुँदा रुबी र आइरन वा टाइटाजियम हुँदा नीलम बन्न सक्छ।

तर मंगलका यी क्रिस्टलहरू अत्यन्त साना छन्—०.२ मिलिमिटरभन्दा पनि साना—त्यसैले ठूला रत्नजस्तै प्रयोगयोग्य हुने सम्भावना कम देखिन्छ।

वैज्ञानिकहरूका अनुसार मंगलमा यी क्रिस्टलहरू पृथ्वीभन्दा फरक तरिकाले बनेका हुन सक्छन्। पृथ्वीमा कोरण्डम प्रायः उच्च ताप र दबाबमा हुने भूगर्भीय प्रक्रियाबाट बन्छ, तर मंगलमा प्लेट टेक्टोनिक्सको प्रमाण स्पष्ट नभएकाले यस्ता क्रिस्टलहरू उल्का पिण्डको ठोक्काइबाट बनेको हुन सक्ने अनुमान गरिएको छ।

उल्का ठोक्किँदा उच्च तापक्रम र दबाब उत्पन्न हुन्छ, जसले कोरण्डमजस्ता खनिज बनाउन सक्छ। साथै, त्यस्तो प्रक्रियाबाट हाइड्रोथर्मल तरल पनि बन्न सक्छ।

हालसम्म भेटिएका क्रिस्टलहरू अन्य स्थानबाट आएका साना ढुंगामा भएकाले तिनीहरूको वास्तविक उत्पत्ति ठ्याक्कै निर्धारण गर्न कठिन भएको वैज्ञानिकहरूले बताएका छन्। यसअघि पनि मंगलमा क्वार्ज र ओपलजस्ता अन्य सम्भावित रत्नका संकेत भेटिएका थिए, जसले यो ग्रहलाई खनिजहरूको दृष्टिले अत्यन्त रोचक प्रयोगशाला जस्तै बनाएको संकेत गर्छ।

प्रकाशित: १४ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार