
काठमाडौं ।
हालै टेक्सासको एउटा घरको छानो चिर्दै तोपको गोलाजत्रो उल्कापिण्ड खसेको छ।
खरबुजाजत्रो आकारको उल्कापिण्डले उनीहरूको घरको छानो फोरेर खाली शयनकक्षभित्र छिरेर भित्रै ठोक्किँदै उछिट्टिएको ह्युस्टनमा परिवारले कसैलाई चोट नलागेकोमा राहत महसुस गरेको छ। यो अन्तरिक्ष ढुंगा सम्भवतः आकाशमा ठूलो आवाजसहित फुट्दै गरेको उल्काबाट छुट्टिएको टुक्रा भएको साक्षीहरूले बताएका छन्।
यो विस्फोट भएको अन्तरिक्ष ढुंगा पछिल्ला केही दिनमा अमेरिकाभरि देखिएका अन्य ‘फायरबल’हरूमध्ये एक हो। वैज्ञानिकहरूका अनुसार यस्तो असामान्य रूपमा धेरै देखिएको घटना किन भइरहेको हो भन्ने अझै स्पष्ट छैन।
नासाको रिपोर्ट अनुसार शनिबार (मार्च २१) साँझ करिब ५:५० बजे (स्थानीय समय ४:४० बजे) करिब ३ फिट (०.९ मिटर) चौडाइको एउटा क्षुद्रग्रह पृथ्वीको वायुमण्डलमा ३५,००० माइल प्रतिघण्टा (५६,३०० किमि/घण्टा) भन्दा बढी गतिमा प्रवेश गरेको थियो र हावासँगको घर्षणका कारण चाँडै टुक्राटुक्रा भयो। यसले ठूलो आवाज (सोनिक बूम) र केही सेकेन्डसम्म देखिने उज्यालो चमक उत्पन्न गरेको थियो।
अमेरिकी उल्कापिण्ड समाज का अनुसार कम्तीमा १८० जनाले ह्युस्टनमाथि करिब २९ माइल (४७ किमि) उचाइमा देखिएको उक्त प्रकाश रेखा वा विस्फोटको आवाज महसुस गरेका थिए। यसको शक्ति करिब २६ टन टीएनटी बराबर रहेको अनुमान गरिएको छ। पछि गरिएको सिमुलेसनले उल्काका धेरै टुक्राहरू सहरको उत्तरी भागमा जमिनमा खसेको देखाएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले तीमध्ये एक टुक्रा ह्युस्टनको स्प्रिङ क्षेत्रमा रहेको घरमा खसेको बताएका छन्। तस्बिर र भिडियोमा उक्त अन्तरिक्ष ढुंगाले छानो फोडेर भुइँमा ठोक्किएको र फेरि छतमा उछिट्टिएपछि टिभीको छेउमा अडिएको देखिन्छ।
लाइभसाइन्सका अनुसार घरधनी शेर्री जेम्सले यसबारे स्थानीय दमकल विभागलाई जानकारी दिएकी थिइन्, जसले सुरुमा यसलाई विमानको टुक्रा हुन सक्ने अनुमान गरेको थियो। तर पछि जाँच गर्दा यो ढुंगा नै भएको पुष्टि भयो।
जेम्सले खोउ ११सँगको कुराकानीमा सुरुमा छेउको कोठाबाट “ठूलो आवाज” सुनेको र प्वाल देखेपछि “यो उल्काको टुक्राजस्तो देखियो” भन्ने लागेको बताइन्। सुरुमा क्षतिप्रति रिस उठे पनि पछि “धेरै उत्साहित तर केही डर पनि लागेको” उनले बताइन्।
उनी विज्ञान कथा (साइ-फाइ) की प्रशंसक भएकाले उक्त उल्कापिण्ड राख्ने बताइन् तर वैज्ञानिकहरूले यसलाई अध्ययनका लागि लैजान सक्ने सम्भावना छ।
यसअघि यसै महिनाको सुरुमा युरोपमा पनि यस्तै घटना भएको थियो, जहाँ चम्किलो ‘फायरबल’को टुक्राले जर्मनीको एक सानो सहरमा घरको छानो फोरेर शयनकक्षमा पसेको थियो।
‘फायरबल’ भनेको ठूला उल्कापिण्डहरू वायुमण्डलमा प्रवेश गर्दा हावासँगको तीव्र घर्षणका कारण टुक्रिएर जल्ने र चम्किलो प्रकाश निकाल्ने घटना हो। पछिल्लो एक सातामा यस्ता घटना असामान्य रूपमा धेरै देखिएका छन्।
यो क्रम गत मार्च १७ बाट सुरु भएको थियो, जब कारजत्रो आकारको उल्का ओहायोको आकाशमा फुटेको थियो र शक्तिशाली सोनिक बूमका कारण क्लिभल्यान्ड नजिकका केही झ्यालहरू समेत फुटेका थिए। त्यस घटनापछि पनि उल्काका केही टुक्रा जमिनमा फेला परेका थिए।
प्रकाशित: १२ चैत्र २०८२, बिहीबार