
काठमाडौं ।
अर्बपति इलन मस्कले स्पेसएक्स र टेस्लाका लागि चिप निर्माण योजनाबारे जानकारी दिएका छन्। हालै मस्कले आफ्ना कम्पनी टेस्ला र स्पेसएक्सबीच चिप बनाउने सहकार्यका लागि महत्वाकांक्षी योजना प्रस्तुत गरेका हुन्।
ब्लूमबर्गका अनुसार मस्कले शनिबार राति अस्टिनको डाउनटाउनमा भएको एक कार्यक्रममा आफ्नो योजना सार्वजनिक गरेका थिए, जहाँ देखाइएको तस्वीरले मस्कले “टेराफ्याब” नाम दिएको यो सुविधा टेस्लाको अस्टिन मुख्यालय र गिगाफ्याक्ट्री नजिकै निर्माण हुने संकेत गर्छ।
मस्कले भने सेमिकन्डक्टर निर्माता कम्पनीहरूले आफ्ना कम्पनीको कृत्रिम बौद्धिकता र रोबोटिक्सका लागि आवश्यक चिप पर्याप्त छिटो बनाउन नसकेको कारण आफूले यो परियोजना अघि बढाइरहेका हुन्: “हामी या त टेराफ्याब बनाउँछौं, नभए हामीसँग चिप हुँदैन, र हामीलाई चिप चाहिन्छ, त्यसैले हामी टेराफ्याब बनाउँछौं।”
उनका अनुसार लक्ष्य पृथ्वीमा वार्षिक १०० देखि २०० गिगावाट कम्प्युटिङ क्षमता समर्थन गर्न सक्ने चिप उत्पादन गर्नु हो, साथै अन्तरिक्षमा एक टेरावाट क्षमतासम्म पुर्याउने योजना छ। उनले यसका लागि कुनै समयसीमा भने दिएका छैनन्। ब्लूमबर्गले उल्लेख गरेअनुसार मस्कसँग सेमिकन्डक्टर निर्माणको पृष्ठभूमि छैन, तर लक्ष्य र समयसीमाबारे बढी वाचा गर्ने इतिहास भने रहेको छ।
प्रकाशित: ९ चैत्र २०८२, सोमबार