
काठमाडौं ।
क्यान महासंघअन्तर्गतको सफ्टवेयर एण्ड सर्भिसेज कमिटीले सीएसआरआई नेपाल तथा एनपीसर्टसँगको सहकार्यमा सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण: साइबर सुरक्षा नेतृत्व निर्माण (Empowering Women for a Secure Digital Future: Building Cybersecurity Leaders) विषयक कार्यक्रम काठमाडौंको सिफलस्थित टेक्सास कलेजमामा आयोजना गरेको छ।
कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाहरूको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साइबर सुरक्षामा महिला नेतृत्व विकास गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए। उनले पछिल्लो सामाजिक घटनाक्रमलाई सन्दर्भित गर्दै महिलाहरूका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए।
नेपाल दूरसञ्चार प्राधिकरणकी उप-निर्देशक रोजा किरण बासुकलाले “साइबर सुरक्षाको अग्रपंक्तिमा महिला: सुरक्षित डिजिटल भविष्यको निर्माण” विषयमा प्रस्तुत गर्दै नीतिगत तथा संस्थागत तहमा महिला नेतृत्वको आवश्यकता औंल्याइन।
करियर र अवसर: इन्साइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन कुमार शर्माले साइबर सुरक्षामा करियरका सम्भावनाहरू, चुनौतीहरू तथा महिला सहभागिता बढाउने उपायहरूबारे व्यावहारिक प्रस्तुतीकरण दिएका थिए।
मोनाल टेककी संस्थापक मोना न्याछ्यों श्रेष्ठले बदलिँदो साइबर जोखिम, डिजिटल सुरक्षा चुनौतीहरू तथा विविधतायुक्त नेतृत्वको आवश्यकतामाथि प्रकाश पारिन्।
कार्यक्रममा आयोजित विशेष प्यानल छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौतीहरू तथा साइबर सुरक्षामा महिलाहरूको भूमिका र सम्भावनाबारे गहन अन्तरक्रिया गरिएको थियो ।
यस कार्यक्रमले नेपालमा साइबर सुरक्षासम्बन्धी जनशक्ति विकास, महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको क्यान महासंघले जनाएको छ।
प्रकाशित: ६ चैत्र २०८२, शुक्रबार