भोडाफोन यूकेले स्पाम फोन कल रोक्न हियासँग गर्यो सहकार्य

  • Technology Khabar | ६ चैत्र २०८२, शुक्रबार
भोडाफोन यूकेले स्पाम फोन कल रोक्न हियासँग गर्यो सहकार्य
फाइल तस्बिर

काठमाडौं ।

भोडाफोन यूकेले स्पाम अर्थात् ठगी फोन कल रोक्न हियासँग सहकार्य गरेको छ। अब यसले प्रयोगकर्तालाई कसले फोन गरिरहेको हो भन्ने देखाउने सुविधा दिएको छ।

बुधबार सार्वजनिक गरिएको जानकारी अनुसार, कम्पनीले आफ्नो नेटवर्कमा हियाको सेक्योर ब्राण्डिङ प्रविधि लागू गरेको छ। यसले भोडाफोनको खुला नेटवर्क एपीआई प्रयोग गरेर प्रमाणित व्यवसायबाट आउने कलको पहिचान देखाउँछ, जसले फोन उठाउने व्यक्तिलाई कसले कल गरिरहेको हो भन्ने थाहा हुन्छ।

यो सेवा बैंक तथा सरकारी निकायजस्ता स्वीकृत संस्थाहरूका लागि उपलब्ध हुनेछ र नेटवर्कमा देखिने ब्रान्ड जानकारी सही र भरपर्दो हुने हियाले जनाएको छ।

यसले प्रयोगकर्तालाई ठगी र अनावश्यक कलबाट जोगाउन सहयोग गर्छ, किनकि अहिले धेरै मानिसले नम्बर नचिने फोन उठाउनै छोडेका छन्। हियाका अनुसार, बेलायतका ८५ प्रतिशत मानिसले नचिनेको नम्बरबाट आएको फोन उठाउँदैनन्।

यसैसँग सम्बन्धित अफकमको रिपोर्टले पनि केवल २६ प्रतिशत प्रयोगकर्ताले मात्र अज्ञात यूके मोबाइल नम्बरबाट आएको कल उठाउने सम्भावना हुन्छ भन्ने देखाएको छ जबकि अन्तर्राष्ट्रिय अज्ञात नम्बरको हकमा यो संख्या ९ प्रतिशत मात्र छ।

अफकमले भने अझै धेरै मानिस अज्ञात नम्बर उठाउने भएकाले उनीहरू ठगीको जोखिममा रहेको बताएको छ। साथै, ४२ प्रतिशत प्रयोगकर्ताले पछिल्ला तीन महिनामा शंकास्पद कल पाएको बताएका छन्।

हिया का संस्थापक तथा सीईओ एलेक्स आल्गार्डले भने, “पहिचान नभएको फोन कल अहिले लगभग बेकार जस्तै भएको छ। मानिसहरूले यसलाई ठगी ठान्छन् र उठाउँदैनन्।”

उनले थपे, “विश्वासको कमीले व्यवसायलाई घाटा हुन्छ र प्रयोगकर्ता अन्योलमा पर्छन्। त्यसैले हामीले भोडाफोनको नेटवर्कमै प्रमाणित पहिचान देखाउने व्यवस्था गरेका छौं।”

यसले व्यवसायलाई ग्राहकसँग सम्पर्क गर्न सजिलो बनाउँछ भने टेलिकम कम्पनीहरूलाई नियामकको दबाब पनि सम्बोधन गर्न मद्दत गर्छ।

अफकमले टेलिकम कम्पनीहरूलाई ठगी कल रोक्न थप जिम्मेवारी दिन प्रस्ताव गरेको छ, जसमा शंकास्पद कलमा कलर आईडी लुकाउने जस्ता उपाय पनि समावेश छन्।

यसअघि मोबाइल, ब्रडब्यान्ड र व्यवसाय सेवा प्रदायकहरूले पनि धोखाधडी रोक्न नयाँ प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए। भोडाफोन (हाल भोडाफोनथ्री) बेलायतमा हिया प्रयोग गर्ने तेस्रो ठूलो मोबाइल नेटवर्क कम्पनी बनेको छ।

यसअघि भर्जिन मिडिया ओटूले हियासँग मिलेर १ अर्ब सम्भावित ठगी वा स्पाम कल चिन्हित गरेको जनाएको थियो। त्यस्तै ब्रिटिश टेलिकम्सले आफ्नो सेवामार्फत लाखौं ठगी कल रोकिएको र करोडौं अनावश्यक कल पहिचान गरिएको जानकारी दिएको थियो।

प्रकाशित: ६ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार