भविष्यमा स्मार्टफोन एपहरू हराउँदै जान्छन् र तिनीहरुको ठाउँ एआई एजेन्टहरूले लिन्छन्: नथिङ सीईओ पेई

  • Technology Khabar | ६ चैत्र २०८२, शुक्रबार
भविष्यमा स्मार्टफोन एपहरू हराउँदै जान्छन् र तिनीहरुको ठाउँ एआई एजेन्टहरूले लिन्छन्: नथिङ सीईओ पेई
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

नथिङका सीईओ कार्ल पेईले स्मार्टफोनको भविष्यबारे बोल्दै एपहरू हराउँदै जाने र तिनको स्थान एआई एजेन्टहरूले लिने बताएका छन्।

उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड नथिङका सह–संस्थापक तथा सीईओ रहेका उनले भने, “सफ्टवेयरमा एआई को हिसाबले हेर्दा, मानिसहरूले बुझ्नुपर्छ कि एपहरू हराउँदै जानेछन्।” उनले थपे, “यदि तपाईंको स्टार्टअप वा कम्पनीको मुख्य मूल्य एपमै आधारित छ भने, त्यो चाहे पनि नचाहे पनि परिवर्तन हुनेछ।”

उनले यी कुरा बुधबार एसएक्सएसडब्लूमा दिएको अन्तर्वार्तामा बताएका हुन्।

पेईले यसअघि पनि एआई-प्राथमिकता भएको डिभाइसको अवधारणा प्रस्तुत गरेका थिए, जसले कम्पनीलाई गत वर्ष २० करोड डलरको सिरिज सी लगानी जुटाउन मद्दत गरेको थियो। त्यतिबेला नथिङले एआई र व्यक्तिगतकरण प्रविधि प्रयोग गरेर नयाँ प्रकारको स्मार्टफोनको कल्पना गरेको थियो।

टेकक्रञ्चका अनुसार एसएक्सएसडब्लूमा उनले आफ्नो एआई-आधारित डिभाइसको अवधारणालाई अझ विस्तार गरे। उनका अनुसार पहिलो चरण भनेको यस्तो एआई सुविधा हो जसले प्रयोगकर्ताको तर्फबाट काम गर्न सक्छ, जस्तै फ्लाइट वा होटल बुक गर्ने। तर उनले यसलाई “धेरै सामान्य” चरण भने।

अर्को चरणमा एआई ले प्रयोगकर्ताको उद्देश्य दीर्घकालसम्म बुझ्न थाल्छ। उदाहरणका लागि, यदि तपाईं स्वस्थ हुन चाहनुहुन्छ भने, डिभाइसले त्यसमा सहयोग गर्न सुझाव दिन सक्छ।

उनले भने, “जब प्रणालीले हामीलाई राम्रोसँग बुझ्न थाल्छ, तब यसले हामीले सोचेकै नहुने कुरा पनि सुझाव दिन सक्छ,” र यसलाई च्याटजीपीटीको मेमोरी फिचरसँग तुलना गरे। पेई का अनुसार भविष्यको एआई-आधारित स्मार्टफोन यस्तो हुनेछ जसले आदेश नदिँदा पनि काम आफैं गर्छ।

उनले भने, “अहिले हामीले फोन प्रयोग गर्ने तरिका निकै पुरानो छ। आईफोनभन्दा अगाडिको जस्तै अनुभव अझै छ। पहिलेका पाम पाइलट र पीडीएजस्तै—लक स्क्रिन, होम स्क्रिन, एपहरू—सबै उस्तै छन्। २० वर्षदेखि खासै परिवर्तन भएको छैन।”

उनका अनुसार अहिलेको प्रणाली जटिल छ र सानो काम गर्न पनि धेरै चरण पार गर्नुपर्छ।

“फोनबाट काम गर्न गाह्रो छ। जस्तै कफी खान जाने योजना बनाउँदा—म्यासेजिङ एप, म्याप, उबर, क्यालेन्डर—धेरै एप प्रयोग गर्नुपर्छ,” उनले भने।

उनले थपे, “भविष्यमा फोन वा अपरेटिङ सिस्टम यस्तो हुनुपर्छ—‘म तपाईंलाई राम्रोसँग चिन्छु, तपाईंको उद्देश्य थाहा छ, र म आफैं काम गरिदिन्छु।’”

उनका अनुसार भविष्यमा एपहरूभन्दा एआई नै मुख्य हुनेछ।

यसले डिभाइसको इन्टरफेस पनि परिवर्तन गर्नेछ, जहाँ मानिसले चलाउने एपहरूभन्दा एआई एजेन्टका लागि बनाइएको इन्टरफेस हुनेछ।

तर उनले नजिकैको समयमा एपहरू पूर्ण रूपमा हराउने होइनन् भनेर स्पष्ट पारे। नथिङको आफ्नै अपरेटिङ सिस्टमले अहिले पनि प्रयोगकर्तालाई साना एप बनाउन अनुमति दिन्छ। तर भविष्यमा एआईले एपहरूलाई सहज रूपमा प्रयोग गर्न सक्नुपर्छ, मानवजस्तो ट्याप गरेर होइन।

उनले भने, “भविष्य भनेको एजेन्टले मानव इन्टरफेस प्रयोग गर्ने होइन। एजेन्टका लागि छुट्टै इन्टरफेस बनाउनुपर्छ र त्यो नै दीर्घकालीन समाधान हो।”

प्रकाशित: ६ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार