आफ्ना साझेदार ओपनएआई र अमेजनविरुद्ध कानुनी कदम चाल्ने सम्भावना विचार गर्दै माइक्रोसफ्ट

  • Technology Khabar | ५ चैत्र २०८२, बिहीबार
आफ्ना साझेदार ओपनएआई र अमेजनविरुद्ध कानुनी कदम चाल्ने सम्भावना विचार गर्दै माइक्रोसफ्ट

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो साझेदार ओपनएआई र अमेजनविरुद्ध कानुनी कदम चाल्ने सम्भावना विचार गरिरहेको फाइनान्सियल टाइम्सले जनाएको छ।

रिपोर्टअनुसार करिब ५० अर्ब डलरको सम्झौताले माइक्रोसफ्ट र ओपनएआई बीचको विशेष क्लाउड सम्झौता उल्लंघन गर्न सक्ने चिन्ता रहेको छ।

गत महिना अमेजन र ओपनएआईले विभिन्न सम्झौताहरू गरेका थिए, जसअन्तर्गत अमेजन वेब सर्भिसेज (एडब्लूएस) लाई फ्रन्टियर नामक ओपनएआई को एआई प्लेटफर्मका लागि तेस्रो पक्षको विशेष क्लाउड प्रदायक बनाइएको थियो। फ्रन्टियर प्लेटफर्म एआई एजेन्ट विकास र सञ्चालनका लागि प्रयोग हुने बताइएको छ।

विवादको मुख्य विषय ओपनएआई ले फ्रान्टियरलाई एडब्लूएसमार्फत उपलब्ध गराउन मिल्छ कि मिल्दैन भन्ने हो। माइक्रोसफ्ट सँग भएको सम्झौताअनुसार ओपनएआई का मोडेलहरू अज्युरमार्फत मात्र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ। रोयटर्सले उक्त रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। माइक्रोसफ्ट, अमेजन र ओपनएआई ले पनि यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।

फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्ट का अधिकारीहरूले यस्तो व्यवस्था सम्भव नभएको र सम्झौताको भावना विपरीत हुने ठानेका छन्। फ्रन्टियर सार्वजनिक गर्नुअघि कम्पनीहरूबीच विवाद समाधान गर्न छलफल भइरहेको बताइएको छ। माइक्रोसफ्ट सँग सम्बन्धित एक स्रोतले “हामी आफ्नो सम्झौता राम्रोसँग बुझ्छौं, यदि उल्लंघन भयो भने हामी मुद्दा हाल्नेछौं,” भनेको रिपोर्टमा उल्लेख छ।

माइक्रोसफ्ट ओपनएआई को सुरुवाती लगानीकर्तामध्ये एक हो। उसले सन् २०१९ मा १ अर्ब डलर र २०२३ को सुरुवातमा १० अर्ब डलर लगानी गरेको थियो। गत वर्ष सेप्टेम्बरमा दुवैले नयाँ सम्बन्धका सर्तहरूमा गैर-बाध्यकारी सम्झौता गरेका थिए, जसले ओपनएआई लाई अन्य कम्पनीहरूसँग पनि सहकार्य गर्ने बाटो खोलेको थियो। यस क्रममा सफ्टब्याङ्क, एनभिडिया र अमेजन सँग पनि ओपनएआई ले सम्झौता गर्न थालेको हो।

गत महिना माइक्रोसफ्ट र ओपनएआई को संयुक्त वक्तव्यमा माइक्रोसफ्ट सँग ओपनएआई का मोडेल र उत्पादनमा विशेष पहुँच रहने र अज्युर नै मुख्य क्लाउड प्लेटफर्म रहने उल्लेख गरिएको थियो। फ्रन्टियर पनि अज्युर मै सञ्चालन हुने बताइएको छ।

प्रकाशित: ५ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार