
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले आफूलाई काम गर्न नदिएको भन्दै माथिल्लो निकायलाई आरोप लगाएका छन्।
उनले आज प्राधिकरणमा आयोजित उपभोक्ता सम्बन्धित एक छलफल कार्यक्रममा नियामक निकाय भन्दा माथि अर्को नियामक बसेर काम गर्न नदिएको आरोप लगाएका हुन्।
अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित “बिल्डिङ्ग डिजिटल ट्रष्टः अ क्रस सेक्टर डाइलग अन कन्जुमर इम्पावरमेन्ट” विषयक छलफल कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियामकिय अधिकार देखाएको आरोप लगाएका हुन्।
उनले दूरसञ्चार प्राधिकरणमा सञ्चार मन्त्रालयले हस्तक्षेप गर्ने गरेको समेत आरोप लगाएको कार्यक्रममा उपस्थित एक सहभागीले जानकारी दिए।
“अटोनोमस भनेपनि अटोनोमस हुन दिएनन्। मन्त्रालयको हस्तक्षेप हुने गरेको छ,” उनले भनेको सुनाउँदै ती सहभागीले भने, “रेगुलेटर माथि रेगुलेटर भए। अब सरोकारबाला र उपभोक्ताहरु आफैं उठ्नुपर्छ।”
उक्त कार्यक्रममा उपस्थित रहेका इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले उपभोक्ताहरुलाई गुणस्तिरय सेवा दिन तयार रहेको बताए। उनले नेपालको तारसहितको इन्टरनेट सेवा दक्षिण एशियामानै उत्कृष्ट रहेको भन्दै भने, “इन्टरनेटको तार काट्नेदाई जेल हाल्ने कानुन छ तर अहिलेसम्म एक दिनपनि कसैलाई कारबाही गरिएको रेकर्ड छैन्।”
उनले यसमा नियामक निकाय प्राधिकरणले नेतृत्व लिनुपर्ने बताएका थिए।
कार्यक्रममा अन्य सहभागीहरुले इन्टरनेट सेवाको गुणस्तर हुनुपर्ने र उपभोक्ताले सहज पहुँच पाउनुपर्ने बारेमा विचार राखेका थिए।
प्रकाशित: १ चैत्र २०८२, आईतवार