
काठमाडौं ।
टिकटकको चिनियाँ अभिभावक कम्पनी बाइटडान्सले कपीराइट विवादका कारण आफ्नो नयाँ भिडियो–एआई मोडेल सीडान्स २.० को विश्वव्यापी सार्वजनिक सुरुवात स्थगित गरेको छ।
द इन्फर्मेशनले शनिबार परिस्थितिबारे प्रत्यक्ष जानकारी भएका दुई व्यक्तिलाई उद्धृत गर्दै यस्तो रिपोर्ट गरेको हो। उक्त रिपोर्टलाई तुरुन्तै स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको रोयटर्सले जनाएको छ। बाइटडान्सले पनि प्रतिक्रिया मागिएको अनुरोधमा तत्काल जवाफ दिएको छैन।
बाइटडान्सले गत महिना आफ्नो एआई भिडियो जेनेरेटर सीडान्स २.० मा बौद्धिक सम्पत्तिको अनधिकृत प्रयोग रोक्न कदम चाल्ने बताएको थियो, किनकि द वाल्ट डिज्नी कम्पनीसहितका अमेरिकी स्टुडियोहरूले कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए।
डिज्नीले गत महिना चिनियाँ कम्पनीलाई ‘सीज एण्ड डेजिस्ट’ पत्र पठाउँदै अनुमति बिना डिज्नीका पात्रहरू प्रयोग गरेर सीडान्स २.० लाई प्रशिक्षण दिइएको आरोप लगाएको थियो।
उक्त मोडेलबाट बनाइएका भिडियोहरू चीनमा भाइरल भएपछि यस्तो कदम चालिएको हो, जसमा टम क्रुज र ब्राड पिटबीचको झगडा देखाइएको भिडियो पनि समावेश थियो।
डिज्नीका अनुसार बाइटडान्सले सीडान्समा स्टार वार्स र मार्भल जस्ता फ्रान्चाइजका कपीराइट भएका पात्रहरूको पाइरेटेड लाइब्रेरी प्रयोग गरेको थियो र ती पात्रहरूलाई सार्वजनिक डोमेनको क्लिप–आर्टजस्तो प्रस्तुत गरिएको थियो। यी फ्रेन्चाइजहरू लुकासफिल्म र मार्भल स्टुडियोजसँग सम्बन्धित छन्।
बाइटडान्सले फेब्रुअरीमा औपचारिक रूपमा सार्वजनिक गरेको उक्त मोडेल व्यावसायिक फिल्म, इ–कमर्स र विज्ञापन क्षेत्रमा प्रयोगका लागि बनाइएको बताएको छ। कम्पनीका अनुसार यसले टेक्स्ट, तस्बिर, अडियो र भिडियो एकैपटक प्रशोधन गर्न सक्छ र सामग्री उत्पादनको लागत घटाउन मद्दत गर्छ।
सीडान्स २.० ले चिनियाँ एआई कम्पनी डीपसिकसँग तुलना गरिएपछि थप ध्यान तानेको छ। डीपसिकले एन्थ्रोपिक र ओपनएआईका मोडेलसँग प्रतिस्पर्धा गर्ने एआई प्रणाली विकास गरेको छ। प्रविधि क्षेत्रका अधिकारीहरूले थोरै निर्देशनबाट सिनेमाटिक कथा तयार पार्ने यसको क्षमताको प्रशंसा गरेका छन्।
बाइटडान्सले नयाँ भिडियो मोडेललाई मार्चको मध्यतिर विश्वभरका ग्राहकका लागि उपलब्ध गराउने योजना बनाएको थियो, तर कम्पनीले अहिले त्यो योजना स्थगित गरेको रिपोर्टमा उल्लेख गरिएको छ।
रिपोर्टका अनुसार बाइटडान्सको कानुनी टोली सम्भावित कानुनी समस्याहरू पहिचान र समाधान गर्ने काममा लागेको छ। साथै इन्जिनियरहरूले भविष्यमा बौद्धिक सम्पत्ति उल्लङ्घन हुने सामग्री उत्पन्न हुन नदिन मोडेलमा अतिरिक्त सुरक्षा उपाय पनि थपिरहेका छन्।
प्रकाशित: १ चैत्र २०८२, आईतवार