
काठमाडौं ।
एरिक्शनले नेतृत्व गरेको तीन वर्षे अनुसन्धान परियोजना भिक्टर सिक्सजी सुरु गरिएको छ जसले औद्योगिक सिक्सजी नेटवर्कमा रियल-टाइम भर्चुअलाइजेसनसम्बन्धी अध्ययन गर्नेछ।
यो परियोजनाको बजेट ५.४ मिलियन यूरो रहेको छ जसमा ४.३ मिलियन युरो सार्वजनिक स्रोतबाट उपलब्ध गराइएको छ। परियोजनामा विभिन्न औद्योगिक कम्पनी तथा अनुसन्धान संस्थाहरू सहभागी छन्। अनुसन्धानको मुख्य ध्यान औद्योगिक प्रयोगका लागि भविष्यका सिक्सजी सञ्चार नेटवर्क र नेटवर्क तथा सूचना प्रविधिको एकीकरणमा केन्द्रित हुनेछ।
यस परियोजनाको उद्देश्य तारयुक्त र वायरलेस नेटवर्कलाई एकीकृत गर्ने समाधान विकास गर्नु हो, जसले कम लेटेन्सीमा स्थानीय क्लाउडबाट नियन्त्रण हुने रोबोट वा औद्योगिक मेटाभर्समा प्रयोग हुने निरीक्षण ड्रोनजस्ता प्रणाली सञ्चालन गर्न सक्षम बनाओस्।
टेलिकम्सका अनुसार यसका लागि आवश्यक लगानी जर्मन फेडरल मिनिस्ट्री अफ रिसर्च, टेक्नोलोजी एण्ड स्पेस (बीएमएफटीआर) ले “ब्रिङ्गिङ सिक्सजी इन्टु एप्लिकेशन” नामक फन्डिङ कार्यक्रमअन्तर्गत उपलब्ध गराएको हो।
परियोजनामा एरिक्शनसँगै एसईडब्लू‑यूरोड्राइभ, एडाप्ट इञ्जीनियरिङ, ईकाडो, फ्रनहोफर आईपीटी, आरडब्लूटीएच आचेन युनिभर्सिटी, टीयू डर्टमण्ड यूनिभर्सिटी, टीयू ड्रेस्डेन तथा सहकार्य साझेदारका रूपमा एयरबस सहभागी छन्। यी संस्थाहरूले दूरसञ्चार, मेकानिकल इन्जिनियरिङ र आईटी क्षेत्रमा रहेका आफ्नो विशेषज्ञता एकत्रित गर्ने लक्ष्य राखेका छन्।
परियोजना तीन मुख्य स्तम्भमा आधारित छ। पहिलो, डिजिटल ट्विनसम्बन्धी अनुसन्धान हो, जसले एप्लिकेसन र सञ्चार नेटवर्कबीचको अन्तर्क्रिया अध्ययन गरी वास्तविक समयमा सटीक भर्चुअल प्रतिनिधित्व तयार गर्ने लक्ष्य राख्छ।
दोस्रो, विभिन्न फ्रिक्वेन्सी ब्यान्डको गतिशील प्रयोग हो, जसमा ७ गिगाहर्ज देखि १५ गिगाहर्ज बीचको सेन्टिमिटर ब्यान्डमा विशेष ध्यान दिइनेछ। विज्ञप्तिअनुसार यो ब्यान्ड २०३० बाट मोबाइल सञ्चारका लागि आंशिक रूपमा उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ। तेस्रो, हालसम्म मुख्यतः तारयुक्त नेटवर्कमा मात्र प्रयोग भएको “टाइम सेन्सिटिभ नेटवर्किङ” को वायरलेस विस्तारबारे अनुसन्धान हुनेछ।
परियोजनाले स्थानीय क्लाउडबाट नियन्त्रण हुने रोबोट र क्लाउडमा गणना स्थानान्तरण गर्ने निरीक्षण ड्रोनजस्ता प्रयोगहरू अध्ययन गर्नेछ। विकसित हुने समाधानहरूको प्रदर्शन सिमुलेसन, प्रयोगशाला परीक्षण तथा वास्तविक औद्योगिक वातावरणमा परीक्षण गरिनेछ, जसमा फ्रनहोफर आईपीटीद्वारा सञ्चालन गरिएको फाइभजी इण्डस्ट्री क्याम्पस यूरोप पनि समावेश छ।
प्राविधिक सुधार जस्तै लेटेन्सी र थ्रुपुट सुधारसँगै परियोजनाले आर्थिक लाभ पनि अध्ययन गर्नेछ, जसले लागत घटाउने वा नयाँ आम्दानीका अवसर सिर्जना गर्न सक्ने सम्भावनाहरू मूल्याङ्कन गर्नेछ।
यसैबीच एरिक्शन र फ्युचर टेक्नोलोजिज भेञ्चरले पनि सहकार्य विस्तार गर्ने घोषणा गरेका छन्। यस सहकार्यको लक्ष्य उत्तर अमेरिकामा औद्योगिक तथा महत्वपूर्ण पूर्वाधार क्षेत्रमा इन्टरप्राइज वायरलेस र निजी फाइभजी नेटवर्कको विस्तार गर्नु हो।
कम्पनीहरूको भनाइ अनुसार, उत्पादन कारखाना, लजिस्टिक्स नेटवर्क, ऊर्जा पूर्वाधार र यातायात प्रणालीजस्ता वास्तविक वातावरणमा AI प्रयोग बढ्दै जाँदा सुरक्षित, भरपर्दो र रियल-टाइम डेटा स्थानान्तरण गर्न सक्षम कनेक्टिभिटी आवश्यक हुनेछ।
एरिक्शनमा इन्टरप्राइज वायरलेस सोलुसन्स विभागकी वरिष्ठ उपाध्यक्ष आसा टाम्सन्सका अनुसार कृत्रिम बुद्धिमत्ता भौतिक संसारमा प्रवेश गरिरहेको छ र यसले उद्यमभित्र कनेक्टिभिटीको भूमिकामा ठूलो परिवर्तन ल्याइरहेको छ।
उता पिटर क्याप्पिएलो, फ्युचर टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृतले नेटवर्क रूपान्तरण केवल नेटवर्क अपग्रेड गर्ने विषय मात्र नभई औद्योगिक वातावरणमा एआई आधुनिकीकरण सक्षम बनाउने प्रक्रिया भएको बताए।
संयुक्त समाधानअन्तर्गत एरिक्शन ले इन्टरप्राइज वायरलेस र निजी सेलुलर प्रविधि उपलब्ध गराउनेछ भने फ्युचर टेक्नोलोजिजले प्रणाली एकीकृतकर्ताको रूपमा काम गर्नेछ। यो समाधान ऊर्जा, उत्पादन, यातायात, लजिस्टिक्स तथा कर्पोरेट क्याम्पसजस्ता विभिन्न क्षेत्रमा आधुनिक कनेक्टिभिटी वातावरण निर्माण गर्न इच्छुक संस्थाहरूलाई लक्षित गरिएको छ।
प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार