
काठमाडौं ।
फिक्स्ड ब्रोडब्यान्ड गतिको तीव्रता स्तरमा नेपाल ८९औं स्थानमा पर्न सफल भएको छ भने दक्षिण एसियाली क्षेत्रमै छलाङ मारेको छ।
यो आँकडा इन्टरनेटको गति मापन गर्ने संस्था ‘ओक्ला’ ले सार्वजनिक गरेको सन् २०२६ को जनवरी महिनाको ‘स्पीडटेस्ट ग्लोबल र्याङ्क’ मा उपलब्ध रहेको छ।
उक्त संस्थाका अनुसार नेपालको इन्टरनेट अपलोड गति ८४.३८ एमबीपीएस तथा डाउनलोड गति ६७.२३ एमबीपीएस रहेको छ।
यो आँकडा गत वर्षको नोभेम्बरदेखि यो वर्षको जनवरीसम्मको तीन महिनाको हो। यो आँकडा अघिल्लो महिना अर्थात् २०२५ अक्टोबरदेखि डिसेम्बरसम्म अपलोड गति ८१.७२ एमबीपीएस, डाउनलोड गति ६४.१३ एमबीपीएस र स्थान ९३ रहेको थियो। जनवरीमा इन्टरनेट डाटा गतिमा सुधार गर्दै नेपालले चार स्थान सुधार गरेको छ।
जनवरीको तथ्याङ्कमा लेटेन्सी अर्थात् विलम्बता ५ मिलिसेकेण्ड र जिटर अर्थात् लेटेन्सी ३ मिलिसेकेण्ड रहेको छ। जिटर भन्नाले लेटेन्सीमा हुने उतारचढावलाई जनाउँछ।
यो लेटेन्सी र जिटर अघिल्लो महिना अर्थात् ०२५ अक्टोबरदेखि डिसेम्बरसम्म पनि हालकै जस्तो रहेको तथ्याङ्कमा उल्लेख छ।
अन्य देशको आँकडा
यो विश्वव्यापी वरीयताको शीर्ष स्थानमा सिङ्गापुर रहेको छ जसको इन्टरनेट गति ४१६.१० एमबीपीएस रहेको छ।
रिपोर्ट अनुसार ३८७.४१ एमबीपीएससहित संयुक्त अरब इमिरेट्स (यूएई) दोस्रो स्थानमा रहेको छ साथै ३४८.०२ एमबीपीएसका साथ फ्रान्स तेस्रो स्थानमा रहेको पाइएको छ।
संस्थाले फिक्स ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्ड दुवैको वरीयता मापन गर्ने भएता पनि मोबाइल ब्रोडब्याण्डको सूचीमा नेपालको नाम समावेश छैन।
सार्क देशहरुको अवस्था के छ?
विश्व वरीयतामा ८९ औं नम्बरमा रहे पनि दक्षिण सार्क देशहरुमा नेपालको इन्टरनेट गति सबैभन्दा तीव्र देखिएको छ। यो दौडमा भारत र बङ्गलादेशजस्ता समेत नेपालभन्दा पछाडि परेका छन्।

तथ्याङ्क अनुसार सार्क मुलुकहरुमा नेपालभन्दा ठिक पछाडि बङ्गलादेश ६४.३७ एमबीपीएसका साथ विश्वको ९६औं स्थानमा रहेको छ भने त्यसपछि मात्र भारत ६१.६७ एमबीपीएसका साथ ९८औं स्थानमा रहेको छ।
सूचीमा श्रीलङ्का १२६औं स्थानमा छ जसको गति ३५.७९ एमबीपीएस छ भने त्यसपछि २०.३० एमबीपीएसका साथ माल्दिभ्स १३९औं स्थानमा रहेको छ। सूचीमा भुटान समावेश गरिएको छैन।
सूचीमा माल्दिभ्सपछि १८.०६ एमबीपीएसका साथ पाकिस्तान १४५औं स्थानमा रहेको छ र सार्क राष्ट्रको सूचीमा ४.७९ एमबीपीएस गतिको साथ अफगानिस्तान १५०औं स्थानमा अटाएको छ।
प्रकाशित: २९ फाल्गुन २०८२, शुक्रबार