भर्जिन मिडिया ओटूले एआईको माध्यमबाट एक अर्बभन्दा बढी स्पाम फोनकल पत्ता लगायो
काठमाडौं ।
बेलायतको मोबाइल नेटवर्क अपरेटर भर्जिन मिडिया ओटू ले एआई प्रयोग गरेर आफ्ना ओटू ग्राहकलाई आएका एक अर्बभन्दा बढी शंकास्पद ठगी र स्पाम फोनकल चिन्हित गरेको जनाएको छ।
कम्पनीले प्रयोग गरेको प्रणालीको नाम ‘कल डिफेन्स’ हो, जुन भ्वाइस समाधान कम्पनी हियासँगको सहकार्यमा विकास गरिएको हो। ग्राहकलाई अज्ञात नम्बरबाट फोन आउँदा यो प्रणाली सक्रिय हुन्छ र ‘एडाप्टिभ एआई’ प्रयोग गरेर फोन नम्बरको व्यवहार विश्लेषण गर्दै त्यो कल ठगी वा स्पाम हुनसक्ने सम्भावना मूल्याङ्कन गर्छ।
टेलिकम्स डटकमका अनुसार यदि कल शंकास्पद ठहरिएमा ग्राहकको फोन स्क्रिनमा चेतावनी लेबल देखाइन्छ। यसले शंकास्पद कल चिन्हित गर्नुका साथै पहिल्यै पहिचान भइसकेका ठगी कलहरूलाई सिधै ब्लक पनि गर्छ।
ओटूले यो सेवा आफ्ना ग्राहकका लागि नोभेम्बर २०२४ मा सुरु गरेको थियो। अहिले प्रत्येक महिना करिब ७ करोड फोनकल शंकास्पद ठगी वा स्पामका रूपमा चिन्हित भइरहेका छन्। कम्पनीका अनुसार ‘स्क्याम’ भनेर चिन्हित गरिएका कलहरू सामान्य कलको तुलनामा ४२ प्रतिशत कम उठाइन्छन् र त्यस्ता कलहरूमा कम्तीमा ८९ प्रतिशत कम प्रतिक्रिया देखिएको छ।
कम्पनीले सबैभन्दा धेरै नक्कल गरिने संस्थाहरूको तथ्याङ्क पनि सार्वजनिक गरेको छ। सूचीको शीर्षमा अमेजन छ, जहाँ ठगहरूले अर्डरमा समस्या आएको वा अनधिकृत खरिद भएको भन्दै प्रयोगकर्ताबाट खाता विवरण वा क्रेडिट कार्ड जानकारी लिन खोज्ने गर्छन्।
दोस्रो स्थानमा बेलायतको कर विभाग एचएम रेभेन्यु एण्ड कस्टम्स (एचएमआरसी) रहेको छ, जहाँ रोबोकलमार्फत कर नतिरेको भन्दै कानुनी कारबाहीको धम्की दिइन्छ। बैंक, भुक्तानी सेवा र बीमा कम्पनीको नक्कल गरेर गरिने फोनकल पनि धेरै देखिएका छन्।
भर्जिन मिडिया ओटू का ठगी रोकथाम निर्देशक मुर्रे म्याकेञ्जीले भने, “हाम्रा ग्राहकहरू हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हुन्। उनीहरूलाई ठगीबाट सुरक्षित राख्न र भरपर्दो नेटवर्क उपलब्ध गराउन हामी ठूलो लगानी गरिरहेका छौँ। त्यसका लागि हामीले एआई प्रविधि प्रयोग गर्दै ठगहरूलाई ग्राहकसम्म पुग्नुअघि नै रोक्ने प्रयास गरिरहेका छौँ।”