
काठमाडौं ।
मोबाइल उद्योगको अन्तर्राष्ट्रिय संस्था जीएसएमए र अफ्रिकाका विभिन्न टेलिकम अपरेटर तथा उपकरण निर्माता कम्पनीहरूले महादेशमा सस्तो फोरजी स्मार्टफोन उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
यो परियोजनामा एयरटेल, एक्जियन टेलिकम, इथियो टेलिकम, एमटीएन ग्रुप, अरेञ्ज एस.ए र भोडाकम जस्ता टेलिकम कम्पनीहरू सहभागी छन्। उपकरण निर्माता पक्षबाट अनर, ह्वावे, मोबिवायर र जेडटीई लगायतका कम्पनीहरू पनि यस पहलमा जोडिएका छन्। साथै वर्ल्ड बैंक र अन्तरराष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको पनि सहभागिता रहेको छ।
यी सबै मिलेर बनेको अफोर्डेबल ह्याण्डसेट कोएलिशनले गत अक्टोबरमा सस्तो ४जी स्मार्टफोनका लागि न्यूनतम आवश्यक मापदण्ड प्रस्ताव गरेको थियो। यो योजना औपचारिक रूपमा मोबाइल वर्ल्ड कङ्रेसको अवसरमा सार्वजनिक गरिएको हो। प्रारम्भिक चरणमा अफ्रिकाका ६ देशमा परीक्षण (पाइलट) कार्यक्रम सञ्चालन गरिनेछ:
जीएसएमएका महानिर्देशक विवेक बद्रीनाथका अनुसार सस्तो स्मार्टफोन डिजिटल तथा वित्तीय समावेश, आर्थिक अवसर र नवप्रवर्तनका लागि महत्वपूर्ण माध्यम हो। उनका अनुसार विश्वभर ३.१ अर्ब मानिस मोबाइल नेटवर्कको पहुँचमा भए पनि मोबाइल इन्टरनेट प्रयोगमा जोडिएका छैनन्।
टेलिकम्स डटकमका अनुसार जीएसएमएको द स्टेट मोबाइल इन्टरनेट कनेक्टिभिटी २०२५ प्रतिवेदनले उपकरणको मूल्य नै मोबाइल इन्टरनेट प्रयोगको मुख्य बाधा भएको देखाएको छ। प्रतिवेदन अनुसार ३.१ अर्बमध्ये करिब एक तिहाइसँग उपकरण भए पनि इन्टरनेट प्रयोग गर्न सक्दैनन्, जबकि करिब २ अर्ब मानिससँग स्मार्टफोन नै छैन।
जीएसएमएको विश्लेषणले ३० डलरको स्मार्टफोन उपलब्ध भएमा १.६ अर्ब मानिसलाई मोबाइल इन्टरनेट प्रयोगमा ल्याउन सकिने देखाएको छ। तर हाल विश्व बजारमा मेमोरी चिपको मूल्य बढेका कारण यस्तो मूल्यमा उपकरण उपलब्ध गराउन चुनौतीपूर्ण बनेको बताइएको छ।
त्यसैले हालको लक्ष्य ४० डलरको स्मार्टफोन उपलब्ध गराउनेतर्फ केन्द्रित गरिएको छ। जीएसएमएले यसका लागि सम्बन्धित देशका सरकारहरूलाई प्रवेश–स्तरका स्मार्टफोन अझ सुलभ बन्न सकून् भन्नका लागि कर र आयात शुल्क घटाउन वा हटाउन पनि आग्रह गरेको छ।
यसैबीच जीएसएमएले अफ्रिकामा स्थानीय भाषामा काम गर्ने र स्थानीय आवश्यकताअनुसारका एआई मोडेल विकास गर्न ‘एआई ल्याङ्वेज मोडल्स इनिशियटिभ’ पनि अघि बढाइरहेको जनाएको छ। यसले क्षेत्रीय प्रविधि इकोसिस्टम र उपकरणमै चल्ने एआईको विकासलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार