गलत सूचना नियन्त्रण नगरेको भन्दै इन्डोनेसियाले मेटालाई दियो ‘कडा चेतावनी’

  • Technology Khabar | २१ फाल्गुन २०८२, बिहीबार
गलत सूचना नियन्त्रण नगरेको भन्दै इन्डोनेसियाले मेटालाई दियो ‘कडा चेतावनी’

काठमाडौं ।

इण्डोनेसियाको सञ्चार मन्त्रालयले अनलाइन जुवा र गलत सूचनाको प्रसार नियन्त्रण गर्न असफल भएको भन्दै मेटा प्लेटफर्म्सलाई “कडा चेतावनी” दिएको छ। मन्त्रालयले बिहीबार यो जानकारी दिएको हो।

यो चेतावनी मेउत्या हाफिदले बुधबार मेटा प्लेटफर्म्सको जकार्तास्थित सञ्चालन कार्यालयमा आकस्मिक भ्रमण गरेपछि जारी गरिएको हो।

मन्त्रालयका अनुसार गलत सूचना, अनलाइन जुवा, मानहानि र घृणास्पद अभिव्यक्तिसम्बन्धी सामग्रीको प्रसार रोक्न सम्बन्धित नियमहरूको पालना कम भएको भन्दै मेटालाई चेतावनी दिइएको हो। यस्तो सामग्री मेटाका प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप मार्फत फैलिएको बताइएको छ।

यस विषयमा प्रतिक्रिया माग्दा मेटाले तुरुन्तै कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ। मन्त्रालयका अनुसार अनलाइन जुवा र गलत सूचनासम्बन्धी चिन्हित (फ्ल्याग्ड) सामग्रीमध्ये मेटाले केवल २८.४७ प्रतिशतमा मात्र कारबाही गरेको छ।

मन्त्री मेउत्या हाफिदले भनिन्, “गलत सूचना, मानहानि र घृणास्पद सामग्रीले इन्डोनेसियामा मानिसहरूको जीवनलाई खतरा पुर्‍याउँछ, तर मेटाले यस्ता सामग्रीलाई निरन्तर फैलिन दिएको छ।”

मन्त्रालयले मेटालाई आफ्नो सामग्री निगरानी प्रणाली सुदृढ गर्न र गैरकानुनी तथा हानिकारक सामग्री हटाउने प्रक्रिया छिटो बनाउन आग्रह गरेको छ।

यसअघि पनि मन्त्रालयले गत वर्ष मेटासहित अन्य सामाजिक सञ्जाल प्लेटफर्मका प्रतिनिधिहरूलाई बोलाएर गलत सूचनाको प्रसार बढ्दै गएको भन्दै सामग्री निगरानी कडा बनाउन निर्देशन दिएको थियो।

प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार