सिक्सजीमार्फत एआईमा आधारित रोबोट विकासलाई अघि बढाउने रणनीतिमा डोयच टेलिकम र टी-मोबाइल यूएस

  • Technology Khabar | २१ फाल्गुन २०८२, बिहीबार
सिक्सजीमार्फत एआईमा आधारित रोबोट विकासलाई अघि बढाउने रणनीतिमा डोयच टेलिकम र टी-मोबाइल यूएस

काठमाडौं ।

डोयच टेलिकम र यसको अमेरिकी सहायक टी-मोबाइल यूएसले सिक्सजी प्रविधिमार्फत एआई–आधारित रोबोट विकासलाई अघि बढाउने रणनीति सार्वजनिक गरेका छन्।

मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लूसी) का क्रममा जर्मनीस्थित टी-ल्याब्स र वासिङ्टनको बेलभ्यूमा रहेको टी-मोबाइल यूएस इनोभेशन ल्याबले संयुक्त रूपमा “सिक्सजी इनोभेशन हब” स्थापना गर्ने घोषणा गरेका हुन्। यो हबले कनेक्टिभिटी, सेन्सिङ र कम्प्युटलाई एकीकृत गर्ने ६जी आर्किटेक्चर डिजाइन गर्नेछ।

डोयच टेलिकमका अनुसार यी तीन तत्वको संयोजनले ६जीलाई ‘फिजिकल एआई’ को आधार बनाउनेछ। अर्थात्, भविष्यका स्वायत्त रोबोटहरूले आफ्नो वातावरण बुझ्ने र त्यससँग अन्तरक्रिया गर्ने क्षमतामा ६जी नेटवर्क मेरुदण्डझैँ काम गर्ने टेलिकम्स डटकमले उल्लेख गरेको छ।

टी-मोबाइलका टेक्नोलोजी प्रमुख जोन श का अनुसार हालका एआई प्रणालीहरू सूचना–आधारित डाटा टोकनमा आधारित छन्, जसले वर्णन वा पूर्वानुमान मात्र गर्छ। तर ‘फिजिकल एआई’ मा डाटा केवल सूचना होइन, उद्देश्य, सन्दर्भ र समयसम्बन्धी संकेत बोकेर वास्तविक संसारमा कार्य ट्रिगर गर्न सक्षम हुनुपर्छ। यसका लागि निर्धारणयोग्य प्रदर्शन, अत्यन्त कम विलम्ब र सटीक समकालिकता आवश्यक पर्ने उनले बताए।

संयुक्त सिक्सजी इनोभेशन हब मार्फत विश्वव्यापी स्तरमा यस्ता माग पूरा गर्न सक्ने ‘एआई-नेटिभ’ नेटवर्क डिजाइन गरिने टी-मोबाइल र डोइचे टेलिकमको दाबी छ।

अहिलेसम्म दूरसञ्चार नेटवर्कको प्राथमिकता डाटा छिटो र कुशल रूपमा बोक्नुमा केन्द्रित थियो। आवश्यकताअनुसार थ्रुआउट र लेटेन्सीजस्ता मापदण्ड समायोजन गरिन्थ्यो। तर डोइचे टेलिकमका अनुसार सिक्सजीले त्यसभन्दा बढी गर्नुपर्छ—ग्राहकको उद्देश्य बुझ्ने, सन्दर्भअनुसार डाटा व्यवस्थापन गर्ने, पूर्वानुमान र लचिलोपन सक्षम बनाउने। यसरी नेटवर्क निष्क्रिय डाटा बोक्ने माध्यमबाट बुद्धिमान कार्यान्वयन ‘फ्याब्रिक’ मा रूपान्तरण हुने लक्ष्य राखिएको छ।

डोयच टेलिकमका बोर्ड सदस्य अब्दु मुडेसिरका अनुसार फिजिकल एआईतर्फको संक्रमणसँगै नेटवर्कको भूमिका मौलिक रूपमा परिवर्तन हुँदैछ। भविष्यका एआई प्रणालीहरूले केवल सूचना प्रशोधन नगरी रोबोटिक्स, उद्योग, लजिस्टिक्स र स्वायत्त प्रणालीहरूमा प्रत्यक्ष भौतिक प्रक्रिया नियन्त्रण गर्नेछन्। सिक्सजी मापदण्ड तय भइरहेका बेला सुरुदेखि नै नेटवर्कभित्र बुद्धिमत्ता समावेश गर्ने अवसर रहेको उनको भनाइ छ।

एमडब्लूसीमा यस वर्ष ‘एआई-नेटिभ सिक्सजी’ प्रमुख एजेन्डामध्ये एक बनेको छ। नोकियाले जीपीयू निर्माता एनभिडियासँगको सहकार्यमा एआई-नेटिभ सिक्सजी प्रगतिबारे चर्चा गरिसकेको छ। त्यसपछि एरिक्सनले इन्टेलसँगको सहकार्य विस्तार गर्दै एआई-नेटिभ सिक्सजीमा सहकार्य बढाएको जनाएको छ।

समग्रमा एआईप्रतिको बढ्दो उत्साह सिक्सजी प्रविधि विकासको दबाब र मोबाइल उद्योगको सबैभन्दा ठूलो वार्षिक सम्मेलनमा नवीनता प्रस्तुत गर्ने प्रतिस्पर्धाका कारण यस वर्षको एमडब्लूसीमा एआई-नेटिभ सिक्सजी बलियो धारका रूपमा उभिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार