
काठमाडौं ।
एन्थ्रोपिकले आफ्नो डेभलपर लक्षित एआई कोडिङ सहायक क्लोड कोडमा “भ्वाइस मोड” सुविधा थपेको छ। यससँगै हात नचलाइकन, संवादकै माध्यमबाट कोड लेख्ने र परिमार्जन गर्ने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
एन्थ्रोपिक का इन्जिनियर तारिक शिहिपारले मंगलबार एक्समा पोस्ट गर्दै यो सुविधाको क्रमिक सार्वजनिक सुरुवातबारे जानकारी दिएका हुन्। उनका अनुसार, हाल करिब ५ प्रतिशत प्रयोगकर्तामा यो सुविधा सक्रिय भइसकेको छ भने आगामी हप्ताहरूमा व्यापक रूपमा विस्तार गरिनेछ।
यसले कसरी काम गर्छ?
भ्वाइस मोड प्रयोग गर्न / भ्वाइस टाइप गरेर सक्रिय गर्नुपर्छ। त्यसपछि प्रयोगकर्ताले बोलिकै आधारमा आदेश दिन सक्छन्, र क्लोड कोडले उक्त आदेश कार्यान्वयन गर्छ। उदाहरणका लागि, “रिफ्र्याक्टर द अथेन्टिकेशन मिडलवेर” जस्ता निर्देशन बोलेर दिन सकिन्छ।
टेकक्रञ्चका अनुसार हालसम्म यो सुविधामा कस्ता सीमितताहरू छन् भन्ने स्पष्ट छैन। जस्तै—भ्वाइस कमाण्डको संख्यामा सीमा छ कि छैन, वा कुनै प्राविधिक प्रतिबन्धहरू छन् कि छैनन् भन्ने खुलाइएको छैन।
साथै, यो सुविधा विकास गर्दा तेस्रो पक्षको एआई भ्वाइस प्रदायकसँग सहकार्य गरिएको हो कि होइन भन्ने पनि स्पष्ट छैन। यसअघि एन्थ्रोपिकले इलेभनल्यनक्ससँग सम्भावित सहकार्यबारे छलफल गरेको खबर आएको थियो।
प्रतिस्पर्धा चर्किँदै
एन्थ्रोपिकले गत मे महिनामा आफ्नो सामान्य च्याटबट क्लोड का लागि पनि भ्वाइस मोड सार्वजनिक गरेको थियो, जसले प्रयोगकर्तालाई बोलिकै आधारमा विभिन्न सामान्य प्रयोजनका काम गर्न अनुमति दिन्छ।
एआई कोडिङ सहायकको बजारमा प्रतिस्पर्धा तीव्र छ। माइक्रोसफ्टको गिटहब कोपाइलट, गुगल, ओपनएआई तथा कर्सरजस्ता उपकरणहरू डेभलपरहरूको ध्यान तान्न प्रतिस्पर्धामा छन्।
तर क्लोड कोड अहिले बजारमा व्यापक रूपमा अपनाइएको उपकरणमध्ये एक बनेको छ। फेब्रुअरीमा एन्थ्रोपिकले क्लोड कोडको रन-रेट आम्दानी २.५ अर्ब डलर नाघेको र सन् २०२६ को सुरुवातदेखि दोब्बरभन्दा बढी वृद्धि भएको जनाएको थियो। साप्ताहिक सक्रिय प्रयोगकर्ता संख्या पनि जनवरीयता दोब्बर भएको कम्पनीको दावी छ।
यसबीच, अमेरिकी रक्षा मन्त्रालयले घरेलु निगरानी वा पूर्ण स्वायत्त हतियार प्रणालीका लागि आफ्नो एआई प्रयोग गर्न नदिने निर्णय गरेपछि क्लोड को मोबाइल एपको लोकप्रियता तीव्र रूपमा बढेको छ। परिणामस्वरूप, उक्त एप अमेरिकी एप स्टोरको चार्टमा शीर्ष स्थानमा पुगेको र च्याटजीपीटीलाई उछिनेको बताइएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार