यूरोप र अफ्रिकाका दुर्गम क्षेत्रमा दूरसञ्चार नेटवर्क विस्तार गर्न भोडाफोनद्वारा अमेजन एलईओसँग साझेदारी

  • Technology Khabar | १९ फाल्गुन २०८२, मंगलवार
यूरोप र अफ्रिकाका दुर्गम क्षेत्रमा दूरसञ्चार नेटवर्क विस्तार गर्न भोडाफोनद्वारा अमेजन एलईओसँग साझेदारी

काठमाडौं ।

बेलायती मोबाइल कम्पनी भोडाफोनले सोमबार अमेरिकाको अमेजनको लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट नेटवर्क ‘अमेजन एलईओ’ सँग सम्झौता गरेको जनाएको छ।

उक्त सहकार्यमार्फत यूरोप र अफ्रिकाका दुर्गम क्षेत्रमा रहेका फोरजी र फाइभजी मोबाइल टावर (मास्ट) लाई जडान गरिनेछ।

कम्पनीका अनुसार अमेजन एलईओले अधिकतम १ जीबीपीएस डाउनलोड र ४०० एमबीपीएस अपलोड गतिको कनेक्टिभिटी उपलब्ध गराउनेछ। यसले दुर्गम स्थानमा फाइबर बिछ्याउनुपर्ने खर्च बचत गर्ने बताइएको छ।

रोयटर्सका अनुसार भोडाफोनले यस वर्ष जर्मनीसहित अन्य युरोपेली देशहरूमा मोबाइल बेस स्टेशन जडान गर्न अमेजन एलईओ प्रयोग सुरु गर्नेछ। त्यसपछि क्रमशः अफ्रिकामा आफ्नै सहायक कम्पनी भोडाफोनमार्फत सेवा विस्तार गरिने जनाएको छ।

कम्पनीका अनुसार अमेजन एलईओका हाल २०० भन्दा बढी स्याटेलाइट कक्षामा छन् भने सयौं स्याटेलाइट प्रक्षेपणका लागि तयार अवस्थामा छन्।

यसैबीच भोडाफोनले आफ्ना ग्राहकलाई साधारण स्मार्टफोनमार्फत स्याटेलाइट कनेक्टिभिटी उपलब्ध गराउने योजना पनि बनाएको छ। यसका लागि उसले एएसटी स्पेसमोबाइलसँग सहकार्य गरिरहेको छ तर सेवा कहिलेदेखि सुरु हुने हो भन्ने मिति भने तय गरिएको छैन।

प्रकाशित: १९ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार