उमेर प्रमाणीकरण नगर्ने एआई सेवामाथि कडाइ गर्न सर्च इन्जिन र एप स्टोरमाथि पनि कारबाही गर्न सक्ने अष्ट्रेलियाको चेतावनी

  • Technology Khabar | १८ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।

अस्ट्रेलियाले उमेर प्रमाणीकरण नगर्ने एआई सेवामाथि कडाइ गर्न सर्च इन्जिन र एप स्टोरमाथि पनि कारबाही गर्न सक्ने चेतावनी दिएको छ।

अस्ट्रेलियाको इन्टरनेट नियामक ईसेफ्टी कमिशनरले उमेर प्रमाणीकरणका उपाय सार्वजनिक नगर्ने एआई सेवामाथि सर्च इन्जिन र एप स्टोरलाई अवरोध गर्न दबाब दिन सक्ने जनाएको छ। आगामी साता सकिने समयसीमाभित्र आधाभन्दा बढी एआई सेवाले नियम पालना गर्न के कदम चालिएको छ भन्ने सार्वजनिक नगरेका रोयटर्सले उल्लेख गरेको छ।

यो चेतावनी एआई कम्पनीहरूविरुद्ध विश्वमै देखिएको सबैभन्दा कडा प्रयासमध्ये एक हो। आत्महत्या वा हिंसालाई रोक्न नसकेको — र कतिपय अवस्थामा प्रोत्साहनसमेत गरेको — आरोपमा एआई कम्पनीहरूविरुद्ध मुद्दा बढिरहेका छन्।

अनुसन्धानकर्ताहरूले यस्ता प्लेटफर्म सामाजिक सञ्जालभन्दा पनि किशोरहरूको मानसिक स्वास्थ्यका लागि बढी हानिकारक हुन सक्ने चेतावनी दिएका छन्।

अस्ट्रेलियाले डिसेम्बरमा मानसिक स्वास्थ्य चिन्तालाई आधार बनाउँदै किशोरहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो। अब सरकारले एआई प्रविधिबाट पहुँचयोग्य सामग्रीमा उमेर सीमा लागू गर्दै यस्तै कडाइ अगाडि बढाएको जनाएको छ।

मार्च ९ देखि अस्ट्रेलियामा सञ्चालन हुने ओपनएआईको च्याटज्पीटी तथा अन्य च्याटबटहरूजस्ता इन्टरनेट सेवाहरूले १८ वर्षमुनिका प्रयोगकर्तालाई अश्लील सामग्री, चरम हिंसा, आत्म–हानि तथा खानपानसम्बन्धी विकार (ईटिङ डिसअर्डर) सम्बन्धी सामग्री उपलब्ध गराउन नपाउनेछ। उल्लंघन गरेमा अधिकतम ४९.५ मिलियन अस्ट्रेलियन डलर (करिब ३५ मिलियन अमेरिकी डलर) जरिवाना हुन सक्छ।

नियामकका प्रवक्ताले नियम उल्लंघन भएमा “हामी आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्नेछौं,” भन्दै “खोज इन्जिन र एप स्टोर जस्ता पहुँचको मुख्य माध्यम (गेटकिपर सेवा) माथि पनि कारबाही हुन सक्छ” बताएका छन्।

ओपनएआई र च्याटबट स्टार्टअप क्यारेक्टर डट एआई विरुद्ध कम उमेरका प्रयोगकर्तासँगको अन्तरक्रियासम्बन्धी गलत मृत्यु मुद्दा दायर भइसकेका छन्। यसै साता ओपनएआईले क्यानडामा भएको सामूहिक गोलीकाण्डका एक किशोर शंकास्पद व्यक्तिको च्याटजीपीटी खाता आक्रमण हुनुभन्दा महिनौँ अघि नै निष्क्रिय बनाएको तर त्यसबारे अधिकारीलाई जानकारी नदिएको स्वीकार गरेको थियो।

अस्ट्रेलियामा अहिलेसम्म च्याटबटसँग प्रत्यक्ष जोडिएको हिंसा वा आत्म–हानिको घटना सार्वजनिक नभए पनि नियामकले १० वर्षसम्मका बालबालिकाले दैनिक ६ घण्टासम्म एआई–आधारित अन्तरक्रियात्मक उपकरण प्रयोग गरिरहेको जानकारी पाएको जनाएको छ। नियामकले एआई कम्पनीहरूले भावनात्मक प्रभाव, मानवीकरण जस्ता प्रविधि प्रयोग गरी किशोरहरूलाई अत्यधिक च्याटबट प्रयोगतर्फ आकर्षित गरिरहेकोमा चिन्ता व्यक्त गरेको छ।

विश्वकै प्रमुख एप स्टोर सञ्चालकमध्ये एक एप्पलले प्रतिक्रिया नदिए पनि आफ्नो वेबसाइटमा अस्ट्रेलिया लगायत उमेर सीमा लागू गर्ने देशहरूमा १८ वर्षभन्दा माथिका एप डाउनलोड गर्न नदिन “उचित उपाय” अपनाइने जनाएको छ, तर कुन उपाय प्रयोग गरिनेछ भन्ने स्पष्ट पारेको छैन। अस्ट्रेलियाको प्रमुख खोज इन्जिन सेवा प्रदायक तथा दोस्रो ठूलो एप स्टोर सञ्चालक गुगलले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

इन्टरनेट उद्योग समूह डिजीकी नीति प्रमुख जेनिफर डक्सबरीले नियामकले नयाँ नियमबारे च्याटबट सेवाहरूलाई जानकारी गराउन प्रयास गरिरहेको बताइन्। तर “अन्ततः अस्ट्रेलियामा सञ्चालन हुने प्रत्येक सेवा आफ्ना कानुनी दायित्व बुझेर त्यसको पालना गर्ने जिम्मेवार हुन्छ,” उनले भनिन्।

प्रकाशित: १८ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei Enterprise initiate eminent ICT infrastructure to strengthen Nepal’s financial sector

  • Technology Khabar
  • १८ फाल्गुन २०८२, सोमबार