
काठमाडौं ।
एनटीटी डाटा र एरिक्सनले निजी फाइभजी नेटवर्क प्रवर्द्धनका लागि बहुवर्षीय साझेदारी गरेका छन्।
उद्योगका यी दुई ठूला कम्पनीबीच भएको सम्झौताले एरिक्सनको निजी फाइभजी र एज प्लेटफर्मलाई एनटीटी डाटाको इन्टरप्राइज नेटवर्क सेवा, वायरलेस विशेषज्ञता, आईटी/ओटी सुरक्षा र म्यानेज्ड सेवासँग जोड्नेछ। यसमार्फत उद्योग लक्षित ‘एन्ड-टु-एन्ड’ समाधानको पोर्टफोलियो अझ बलियो बनाइने बताइएको छ।
सम्झौताअनुसार एनटीटी डाटा एरिक्सनका प्रमुख सिस्टम इन्टिग्रेटर र म्यानेज्ड सेवा प्रदायकमध्ये एकका रूपमा काम गर्नेछ। उसले निजी फाइभजी लाई म्यानेज्ड सेवाका रूपमा उपलब्ध गराउनेछ भने एनटीटीका एज एआई एजेन्टहरू एरिक्सनको हार्डवेयरमा सञ्चालन हुनेछन्।
दुवै कम्पनीले विभिन्न क्षेत्रमा दोहोर्याएर प्रयोग गर्न सकिने समाधानहरूको सूची तयार पार्ने र संयुक्त रूपमा बिक्री, बजार प्रवर्द्धन तथा कार्यान्वयन गर्ने योजना बनाएका छन्।
घोषणामा इन्टरप्राइज एआई अपनाउने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
एनटीटी डाटाका ग्लोबल हेड अफ एज सर्भिस शाहिद अहमदका अनुसार, “कम्पनीहरूले एजमा एआई अपनाउँदा कनेक्टिभिटी, बुद्धिमत्ता र सुरक्षालाई एकीकृत रूपमा उत्पादन वातावरणमै लागू गर्न सक्ने साझेदार चाहिन्छ। एरिक्सनसँग मिलेर हामी यी समाधानहरू छिटो तैनाथ गर्न, ठूलो स्तरमा सञ्चालन गर्न र परिणाम दिन सक्छौं। निजी फाइभजी ले एज एआई र फिजिकल एआई कार्यान्वयनका लागि आधार तयार गर्छ।”
टेलिकम्स डटकमका अनुसार दुवै कम्पनीले उत्पादन, यातायात, बन्दरगाह र लजिस्टिक्स, ऊर्जा तथा खानी, र स्मार्ट सिटी क्षेत्रलाई लक्षित गरेका छन्। यी क्षेत्रमा रियल–टाइम सम्पत्ति निगरानी, पूर्वानुमानमा आधारित मर्मत (प्रिडिक्टिभ मेन्टेनेन्स) र टाढाबाट वा स्वायत्त सञ्चालनजस्ता प्रयोग सम्भव हुने बताइएको छ।
एरिक्सनका बिजनेस एरिया इन्टरप्राइज वायरलेस सोलुसन्स प्रमुख आसा टाम्सन्सले एरिक्सनले एक दशकदेखि इन्टरप्राइज कनेक्टिभिटीमा काम गर्दै आएको र अब त्यसलाई एज एआई र फिजिकल एआईलाई ठूलो स्तरमा समर्थन गर्न विस्तार गरिएको बताए।
उनका अनुसार, “हाम्रो ग्लोबल प्लेटफर्म र एनटीटी डाटाको इन्जिनियरिङ, म्यानेज्ड सेवा तथा उद्योग विशेषज्ञतालाई जोड्दा कम्पनीहरूले परीक्षण चरणबाट सिधै उत्पादन स्तरको सञ्चालनमा जान सक्छन्।”
यो साझेदारी निजी सेल्युलर नेटवर्क बजारमा महत्वपूर्ण मोडमा आएको छ। बर्ग इन्साइटका अनुसार, सन् २०२५ को अन्त्यसम्म विश्वभर ६,५०० निजी नेटवर्क सञ्चालनमा पुगेका छन् र निजी एलटीई/फाइभजी समाधानको बजार मूल्य २.४ अर्ब डलर पुगेको छ। सन् २०३० सम्म यो बजार वार्षिक ३८ प्रतिशतको दरले बढ्दै १२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
हालै एरिक्सनले इटालियन नौसेनासँग अभ्यासका क्रममा निजी फाइभजी स्ट्यान्डअलोन परीक्षण गरेको थियो। त्यस्तै नोकियाले फिनल्यान्डमा खानी प्रविधि परीक्षण केन्द्रमा निजी फाइभजी नेटवर्क तैनाथ गरेको छ र बेलायतको थेम्स फ्रीपोर्टका लागि भेरिजोन सँग सहकार्य गरेको छ।
बर्ग इन्साइटका अनुसार हाल निजी नेटवर्क समाधान क्षेत्रमा नोकिया सबैभन्दा ठूलो एकल प्रदायक हो, जसका ९६० ग्राहक र २,००० भन्दा बढी तैनाथी छन्।
एनटीटी डाटा र विशेषगरी एरिक्सनले सहकार्यमार्फत नोकियाको अग्रता घटाउने लक्ष्य राखेका छन्।
प्रकाशित: १७ फाल्गुन २०८२, आईतवार