मेटा र यूट्युबविरुद्ध सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दा दायर गरेकी महिलाले बुधबार अदालतमा बयान दिने

  • Technology Khabar | १४ फाल्गुन २०८२, बिहीबार
मेटा र यूट्युबविरुद्ध सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दा दायर गरेकी महिलाले बुधबार अदालतमा बयान दिने

काठमाडौं ।

मेटा प्लेटफर्म र यूट्युबविरुद्ध सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दा दायर गरेकी क्यालिफोर्नियाकी एक महिलाले लस एन्जलसमा जारी ऐतिहासिक सुनुवाइका क्रममा बुधबार अदालतमा बयान दिने भएकी छन्।

अदालतमा “काले जी.एम.” नामले चिनिने ती महिलाले आफूले ९ वर्षको उमेरमा इन्स्टाग्राम र ६ वर्षको उमेरमा यूट्युब प्रयोग गर्न थालेको बताएकी छन्। ती प्लेटफर्महरूको प्रयोगले आफ्नो मानसिक स्वास्थ्यमा असर पुर्‍याएको, जसमा डिप्रेसन र शारीरिक स्वरूपप्रति असन्तुष्टि जस्ता समस्या समावेश रहेको उनको दावी छ।

उनका वकिलहरूका अनुसार कम्पनीहरूले सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ भन्ने थाहा हुँदाहुँदै पनि साना प्रयोगकर्तालाई आकर्षित गरी नाफा कमाउने रणनीति अपनाए।

यो मुद्दा विश्वव्यापी रूपमा सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध बालबालिका र किशोरकिशोरीमाथि पर्ने नकारात्मक प्रभावका आरोपसँग जोडिएको व्यापक प्रतिक्रियाको हिस्सा हो।

अस्ट्रेलियाले साना प्रयोगकर्तालाई यस्ता प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ भने अन्य देशहरूमा पनि यस्तै कडाइबारे विचार भइरहेको रोयटर्सले उल्लेख गरेको छ।

मुद्दाको सुरुआती चरणमा कम्पनीहरूले बालबालिकामा सामाजिक सञ्जालको प्रभावबारे के थाहा पाएका थिए र युवा प्रयोगकर्तालाई लक्षित गरेर कस्ता व्यापारिक रणनीति अपनाएका थिए भन्ने विषयमा बहस भएको थियो। अब भने सुनुवाइ महिलाको व्यक्तिगत दाबी र प्लेटफर्म प्रयोगले उनको मानसिक स्वास्थ्यमा पारेको प्रभावमा केन्द्रित हुनेछ।

मार्क जुकरबर्गले अदालतमा बयान दिँदै कम्पनीले बालबालिकाका लागि विशेष उत्पादनबारे छलफल गरे पनि त्यस्ता उत्पादन सार्वजनिक नगरेको बताएका थिए। मुद्दामा जित हासिल गर्न उनका वकिलहरूले प्लेटफर्महरूको डिजाइन वा सञ्चालन तरिका उनको मानसिक स्वास्थ्य समस्या उत्पन्न वा बिगार्न महत्वपूर्ण कारक बनेको प्रमाणित गर्नुपर्नेछ।

मेटा पक्षका वकिलले प्रारम्भिक बयानमा ती महिलाको स्वास्थ्य अभिलेखमा मौखिक र शारीरिक दुर्व्यवहारको इतिहास र ३ वर्षको उमेरमै आमाबुबाको सम्बन्धविच्छेदपछि तनावपूर्ण पारिवारिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

उता यूट्युबका वकिलका अनुसार कालेले प्लेटफर्ममा उपलब्ध साइबर दुर्व्यवहार नियन्त्रणका उपायहरू—जस्तै टिप्पणी मेटाउने वा भिडियो हेर्ने समय सीमित गर्ने सुविधा—प्रयोग नगरेको अदालत अभिलेखमा जनाइएको छ।

अदालतमा प्रस्तुत अभिलेखअनुसार पछिल्ला पाँच वर्षमा उनले यूट्युब शर्टस् औसतमा दैनिक करिब १ मिनेट १४ सेकेन्ड र अन्य यूट्युब भिडियो स्ट्रिमिङ औसतमा करिब २९ मिनेट खर्च गरेकी थिइन्।

प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार