
काठमाडौं ।
एनभिडियाका दोस्रो सबैभन्दा उन्नत एआई चिप एच२०० हालसम्म कुनै पनि चिनियाँ ग्राहकलाई बिक्री नभएको अमेरिकी वाणिज्य विभागका एक अधिकारीले मंगलबार बताएका छन्।
निर्यात कार्यान्वयनका सहायक सचिव डेविड पिटर्सले प्रतिनिधि सभाको परराष्ट्र मामिला समितिको सुनुवाइका क्रममा ती अर्धचालकबारे सोधिएको प्रश्नमा “मेरो बुझाइअनुसार अहिलेसम्म एक पनि छैन,” भने। वाशिंगटनस्थित चिनियाँ दूतावास र एनभिडियाले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत महिना निश्चित सर्तसहित चीनतर्फ पठाइने एनभिडियाको एच२०० चिप बिक्रीलाई औपचारिक स्वीकृति दिएको थियो। यस निर्णयले दुवै दलका अमेरिकी सांसद र पूर्व अधिकारीहरूबाट आलोचना खेपेको थियो।
ह्वाइट हाउसका एआई प्रमुख डेभिड स्याक्सको नेतृत्वमा रहेको प्रशासनले उन्नत एआई चिप चीन पठाउँदा चीनका प्रतिस्पर्धी कम्पनीहरू—जस्तै कडा प्रतिबन्धमा रहेको ह्वावेलाई एनभिडिया र एएमडीका सबैभन्दा उन्नत चिप डिजाइनसँग प्रतिस्पर्धा गर्न थप प्रयास नगर्न निरुत्साहित गर्ने दावी गरेको रोयटर्सले उल्लेख गरेको छ।
तर चीनसम्बन्धी कडा धारणा राख्नेहरू भने यी चिपहरू व्यावसायिक प्रयोगबाट सजिलै मोडिएर चीनको सैन्य क्षमतामा प्रयोग हुन सक्ने र यसले एआई क्षेत्रमा अमेरिकाको वर्चस्वलाई चुनौती दिन सक्ने चिन्ता व्यक्त गर्छन्। हालका लागि भने प्रक्रियामा राखिएका सुरक्षात्मक प्रबन्ध (गार्डरेल) का कारण चिपको ढुवानी रोकिएको छ।
पिटर्सलाई रिपब्लिकन सांसद बिल हुइजेन्गाले चीनतर्फ हुने चिप तस्करीबारे पनि प्रश्न गरेका थिए। हुइजेन्गाले रोयटर्सको एक रिपोर्ट उल्लेख गर्दै चिनियाँ एआई स्टार्टअप डीपसिकले आफ्नो पछिल्लो एआई मोडेल तालिम दिन एनभिडियाको सबैभन्दा उन्नत चिप प्रयोग गरेको बताएका थिए।
यसमा पिटर्सले भने, “हो, चिप तस्करी भइरहेको छ। हामी यो समस्यालाई सक्रिय रूपमा सम्बोधन गरिरहेका छौं। यो हाम्रो कार्यान्वयन प्राथमिकतामध्ये एक हो।”
प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार