एनटिसी, एनसेल र स्मार्ट तीनवटै कम्पनीको मोबाइल सेवा ललितपुरमा गुणस्तरहिन

  • Technology Khabar | २२ बैशाख २०७६, आईतवार
एनटिसी, एनसेल र स्मार्ट तीनवटै कम्पनीको मोबाइल सेवा ललितपुरमा गुणस्तरहिन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ललितपुर जिल्लामा गरेको ड्राइभ टेष्टमा सबै मोबाइल सेवा प्रदायक कम्पनीहरु असफल भएका छन् । प्राधिकरणले गत फागुनको अन्तिम सातादेखि वैशाखको पहिलो सातासम्म नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल प्रालि र स्मार्ट टेलिकम प्रालिको सेवाको ड्राइभ टेष्टअनुसार तीनवटै कम्पनी ‘फेल’ भएका हुन् ।

कल परीक्षणअनुसार तीनवटै कम्पनीको कल स्थापना हुन लाग्ने समय र सफलताको दर नकारात्मक रहेको भेटिएको हो ।

हालै सार्वजनिक रिपोर्टअनुसार प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय ५ सेकेण्डा सो भन्दा कममध्ये तीनवटै कम्पनीको आफ्नै नेटवर्कभित्रै पनि सो भन्दा दोब्बर अधिक समय लागेको देखिएको छ । कल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको ११.५३ सेकेण्ड छ भने एनसेलको ७.६८ सेकेण्ड तथा स्मार्ट टेलिकमको १२.०१ प्रतिशत रहेको छ ।

त्यस्तै प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दरमा पनि तीनवटै कम्पनीहरु अनुत्तिण भएको देखिन्छ । यसमा नेपाल टेलिकमको केबल ९२.८६ प्रतिशत, एनसेलको ९४.७४ प्रतिशत तथा स्मार्ट टेलिकमको ८७.६२ प्रतिशत रहेको छ ।

प्राधिकराणका अनुसार आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दरमा भने स्मार्ट टेलिकम मात्र अनुत्तिर्ण भएको छ । यसमा नेपाल टेलिकमको १.५४ प्रतिशत तथा एनसेलको शुन्य प्रतिशत रहेको छ ।

इन्टरनेट सेवा परीक्षण

तीनवटै कम्पनीहरु इन्टरनेट परीक्षणमा भने उत्तीर्ण भएका छन् । यसमा पिंग गर्न लाग्ने समय र सफलताको दर २५० मिलिसेकेण्ड वा त्यो भन्दा कम तोकिएकोमा नेपाल टेलिकमको केबल १३७.७५ मिलिसेकेण्ड, एनसेलको १९९.१९ मिलिसेकेण्ड तथा स्मार्टको १६८.७७ मिलिसेकेण्ड रहेको छ ।

तीनवटा कम्पनीहरुमध्ये वेबपेज लोड हुन लाग्ने समय र सफलताको दरमा नेपाल टेलिकम अगाडि रहेको छ । यसमा नेपाल टेलिकमबाट सबैभन्दा कम समयमा नै वेबपेज लोड भएको रिपोर्टमा उल्लेख छ । जसमा नेपाल टेलिकमबाट १७.९३ सेकेण्डमा वेबपेज लोड भएको छ भने एनसेलबाट १८.१२ सेकेण्ड तथा स्मार्ट टेलिकमबाट १७.९९ सेकेण्डमा वेबपेज लोड भएको छ ।

डाउनलोड र अपलोड डाटाको बहाव हेर्दा भने स्मार्ट टेलिकमले अन्य दुई सेवा प्रदायकलाई उछिनेको छ । डाउनलोडतर्फ स्मार्टको औसत ११.६३ एमबीपिएस छ भने एनसेलको ९.०८ एमबीपिएस रहेको छ । त्यसैगरि नेपाल टेलिकमको ५.४५ एमबीपिएस औसत डाउनलोड डाटाको बहाब हुँदै सबैभन्दा कमजोर रहेको देखिन्छ ।

अपलोडमा पनि स्मार्ट अन्य दुईभन्दा अगाडि रहेको छ, जसको अपलोड डाटाको औसत बहाब ८.३७ एमबीपिएस रहेको छ भने एनसेलको ७.२४ एमबीपिएस तथा नेपाल टेलिकमको ३.५४ एमबीपिएस रहेको रिपोर्टमा उल्लेख छ ।

प्राधिकरणले ललितपुर जिल्लाको रिंगरोड भित्रका मुख्य तथा सहायक मार्गहरु, धोबीघाट, नख्खु, लेले, ठेंचो, नखिपोट, खुमलटार, इमाडोल, टिकाथलीलगायतका स्थानहरुमा ड्राइभ टेस्ट गरेको थियो ।

यसरी हुन्छ ड्राइभ टेस्ट

ड्राइभ टेस्टमा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणद्धारा लगातार फोनकल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरिन्छ । कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तर रुपमा एकैसाथ गरिन्छ ।

हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क फोरजी, थ्रीजी, टूजी मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालितरुपमा छनौट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ ।

DT-Report-Lalitpur-2075-Chaitra

प्रकाशित: २२ बैशाख २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार