स्पेसएक्स पेन्टागनको स्वचालित ड्रोन प्रविधि प्रतिस्पर्धामा सहभागी हुने

  • Technology Khabar | ५ फाल्गुन २०८२, मंगलवार
स्पेसएक्स पेन्टागनको स्वचालित ड्रोन प्रविधि प्रतिस्पर्धामा सहभागी हुने

काठमाडौं ।

स्पेसएक्स पेन्टागनको स्वचालित ड्रोन प्रविधि प्रतिस्पर्धामा सहभागी हुने भएको छ। यसबारे ब्लूमबर्ग न्युजले सोमबार जानकारी दिएको हो।

समाचार अनुसार इलन मस्कको स्पेसएक्स र यसको पूर्ण स्वामित्वको सहायक कम्पनी एक्सएआईले आवाजमार्फत नियन्त्रण गर्न सकिने स्वचालित ड्रोन स्वार्मिङ (झुण्डमा सञ्चालन हुने) प्रविधि विकास गर्न पेन्टागनले आयोजना गरेको गोप्य प्रतिस्पर्धामा भाग लिइरहेका छन्।

स्पेसएक्स, एक्सएआई तथा पेन्टागनको डिफेन्स इनोभेसन युनिटले यसबारे तुरुन्तै प्रतिक्रिया नदिएका भन्दै उक्त रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको रोयटर्सले जनाएको छ।

टेक्सासस्थित स्पेसएक्सले हालै एक्सएआईलाई अधिग्रहण गरेको थियो। यस सम्झौतामार्फत मस्कको प्रमुख अन्तरिक्ष तथा रक्षा ठेकेदार कम्पनी र उनको कृत्रिम बुद्धिमत्ता स्टार्टअप एकीकृत भएका हुन्। यो कदम यसै वर्ष स्पेसएक्सले गर्ने तयारी गरेको आईपीओ अघि गरिएको हो।

ब्लूमबर्गका अनुसार मस्कका कम्पनीहरू जनवरीमा सुरु गरिएको १० करोड डलर पुरस्कार राशिको प्रतिस्पर्धामा छनोट गरिएका केही कम्पनीमध्ये पर्छन्।

६ महिनासम्म चल्ने उक्त प्रतिस्पर्धाको उद्देश्य आवाज आदेशलाई डिजिटल निर्देशनमा रूपान्तरण गर्न सक्ने र एकैपटक धेरै ड्रोन सञ्चालन गर्न सक्ने उन्नत स्वार्मिङ प्रविधि विकास गर्नु हो।

स्मरणीय छ मस्क सन् २०१५ मा स्वचालित हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउन आह्वान गर्ने खुला पत्रमा हस्ताक्षर गर्ने एआई र रोबोटिक्स अनुसन्धानकर्तामध्ये एक थिए।

रोयटर्सका अनुसार उक्त पत्रमा “आक्रमणकारी स्वचालित हतियार” लाई नयाँ “मानिस मार्ने उपकरण” नबनाउन आग्रह गरिएको थियो। गत वर्ष अमेरिकी रक्षा सचिवले ड्रोन विकास र तैनाथीलाई तीव्र बनाउन नयाँ रणनीति सार्वजनिक गरेका थिए, जसमा प्रशासनिक प्रक्रिया घटाउने र स्वदेशी ड्रोन उत्पादन बढाउने लक्ष्य राखिएको थियो।

संयुक्त राज्य अमेरिका विमानस्थल र ठूला खेलकुद कार्यक्रम वरिपरि ड्रोनलाई सुरक्षित र कम लागतमा निष्क्रिय बनाउने उपाय खोजिरहेको छ। विशेषगरी यस गर्मीयाममा हुने फिफा विश्वकप र अमेरिका२५० वार्षिकोत्सव समारोहलाई ध्यानमा राख्दै यो चासो झनै बढेको बताइएको छ।

गत वर्ष ओपनएआई, गुगल (अल्फाबेटको स्वामित्वमा), एन्थ्रोपिक र एक्सएआईले पेन्टागनमा उन्नत एआई क्षमता विस्तार गर्ने उद्देश्यका साथ अधिकतम २० करोड डलरसम्मका ठेक्का पाएका थिए।

प्रकाशित: ५ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार