
काठमाडौं ।
एरिक्सनले रक्षा कम्पनी लियोनार्दोसँग मिलेर फाइभजी स्ट्याण्डअलोन प्रयोग गर्दै सामुद्रिक कनेक्टिभिटी परीक्षण गरेको छ जसले प्रशिक्षण परिदृश्यमा संलग्न नौसैनिक युनिटहरूबीच सम्पर्क सम्भव बनाएको छ।
यसलाई ईडीएफ फाइभजी कमप्याड परियोजना नाम दिइएको थियो र यो इटालियन जलसेनाको अपरेशनल एक्सपेरिमेन्टेशन (ओपीईएक्स) २-२५ क्रममा गल्फ अफ टारन्टाओमा सञ्चालन गरिएको थियो।
परीक्षणका लागि एरिक्सनको अल्ट्रा कम्प्याक्ट कोर र म्यासिभ एमआईएमओ रेडियो एक्सेस नेटवर्क उपकरण प्रयोग गरिएको थियो, जुन इटालियन नौसेनाको उभयचर अवतरण जहाज सान जर्जियोमा जडान गरिएको थियो। उक्त जहाज “परीक्षण अभियान” को नेतृत्व गर्ने युनिट थियो।
त्यसपछि एरिक्सनको फाइभजी एसए ग्राहक परिसर उपकरण (सीपीई) अर्को जहाज राइमोण्डो मोन्टेक्युकोलीमा जडान गरिएको थियो। यसमा एरिक्सनको फाइभजी स्ट्याण्डअलोन कनेक्टिभिटी र लियोनार्डोको एनआईएनई इन्क्रिप्शन समाधान प्रयोग गरी दुई जहाजबीच गोप्य र अगोप्य जानकारीको रियल–टाइम आदानप्रदान गरिएको थियो।
यसमा कम्ब्याट म्यानेजमेन्ट सिस्टमबाट प्राप्त अवस्थागत जानकारी तथा “एआई ब्रेन” प्लेटफर्ममार्फत प्रशोधन गरिएका १२ मानवरहित प्रणालीका भिडियो स्ट्रिमहरू पनि समावेश थिए।
ओपेक्सको उद्देश्य जहाजभित्र जडित प्रणालीका लागि फाइभजी एसएको कार्यसम्पादन, सुरक्षा र स्थायित्व प्रमाणीकरण गर्नुका साथै एउटै एकीकृत फाइभजी नेटवर्कले “अनधिकृत र सम्भावित रूपमा एकअर्कामा हस्तक्षेप हुने फरक–फरक फ्रिक्वेन्सी ब्यान्डमा सञ्चालन हुने धेरै स्वतन्त्र सञ्चार प्रणाली” भन्दा स्पेक्ट्रम प्रयोगलाई कसरी प्रभावकारी बनाउँछ भन्ने देखाउनु रहेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।
“इटालियन नौसेना आफ्ना आवश्यकताका लागि उत्कृष्ट कनेक्टिभिटी समाधान खोजिरहेको छ र त्यस लक्ष्यतर्फ उनीहरूसँग सहकार्य गर्न पाउँदा हामी गर्व गर्छौं,” एरिक्सन यूरोप, मध्यपूर्व र अफ्रिका प्रमुख तथा वरिष्ठ उपाध्यक्ष प्याट्रिक जोहान्सनले भने। “केन्द्रीय भूमध्यसागरमा अवस्थित इटालीसँग ५ लाख वर्ग किलोमिटरभन्दा बढी समुद्री विशेष आर्थिक क्षेत्र भएकाले इटालियन नौसेनाले युरोपमा रणनीतिक रूपमा महत्वपूर्ण भूमिका खेल्छ।”
एरिक्सनका मिसन क्रिटिकल नेटवर्क्स प्रमुख फ्रेडी सोडरग्रेनले भने, “लियोनार्डो र इटालियन नौसेनासँग गरिएको यो सफल परीक्षण फाइभजी प्रविधिमार्फत रक्षा क्षमतामा सुधार गर्ने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि हो।
हाम्रो रक्षा पोर्टफोलियोको अभिन्न भागका रूपमा रहेको फाइभजी प्लेटफर्म क्षेत्रका कडा आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ। यो सहकार्यले महत्वपूर्ण सञ्चालनमा डुअल-युज-फाइभजीको बहुउपयोगिता मात्र देखाउँदैन, समुद्रमा उन्नत कनेक्टिभिटीले नौसैनिक सञ्चार र कार्यक्षमतामा उल्लेखनीय सुधार ल्याउन सक्छ भन्ने पनि देखाउँछ।”
टेलिकम्स डटकमका अनुसार गत वर्ष टेलिफोनिकाले पनि युद्धपोतमा निजी फाइभजी नेटवर्क जडान गरी यस्तै परीक्षण गरेको थियो। उक्त अपरेटरले नोकिया, साइबरसुरक्षा प्रदायक राभेनलूप र नेटवर्क समाधान प्रदायक एटिका टेक्नोलोजिजसँग मिलेर नाटोको स्ट्याणडिङ नेभल म्यारिटाइम ग्रुप्स अन्तर्गतको एउटा जहाजमा फाइभजी नोड जडान गरेको थियो जुन त्यस्तो प्रकारको पहिलो प्रयोग भएको बताइएको थियो।
प्रकाशित: ५ फाल्गुन २०८२, मंगलवार