नथिङले भारतमा सञ्चालनमा ल्यायो आफ्नो पहिलो रिटेल स्टोर

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
नथिङले भारतमा सञ्चालनमा ल्यायो आफ्नो पहिलो रिटेल स्टोर

काठमाडौं ।

नथिङले भारतमा आफ्नो पहिलो रिटेल स्टोर सञ्चालनमा ल्याएको छ। टाइगर ग्लोबलको समर्थन पाएको यो हार्डवेयर कम्पनीका लागि भारत सबैभन्दा ठूलो बजार हो। स्टोर बेंगलुरुमा खोलिएको हो जहाँ कम्पनीका धेरै प्रयोगकर्ता केन्द्रित रहेको बताइएको छ।

दुई तले नयाँ स्टोरमा नथिङका उत्पादन र अन्य परियोजनाहरू प्रदर्शन गरिनेछ। ग्राहकहरूले हार्डवेयर उत्पादन तथा अन्य मर्चेन्डाइज खरिद गर्न सक्नेछन् र केही वस्तुहरू आफूअनुसार अनुकूलन (कस्टमाइज) गर्न पनि सक्नेछन्।

“हामी रमाइलो ठाउँ बनाउन चाहन्थ्यौं,” कम्पनीका सह–संस्थापक तथा सीईओ कार्ल पेईले भने। “यो ब्रान्डसँग सम्बन्धित विभिन्न पक्षबाट प्रेरित छ। जस्तै कारखानाको अनुभव: यदि तपाईंले उत्पादन किन्नुभयो भने उत्पादन लाइनबाट सामान निस्किएझैं देखाइन्छ। फोनहरूमा हुने परीक्षण, जस्तै यूएसबी पोर्ट परीक्षण वा पानी प्रतिरोध परीक्षण गर्ने मेसिनहरू पनि देखाइन्छ। हामी त्यो संसारलाई एउटै स्थानमा ल्याउन चाहन्थ्यौं।”

स्टोरमा नथिङ र यसको बजेट ब्रान्ड सीएमएफका उत्पादनहरू राखिनेछन्। सीएमएफ गत वर्ष अलग गरिएको ब्रान्ड हो। सीएमएफको मुख्यालय भारतमै छ र यसले भारतीय ओडीएम कम्पनी अप्टाइमससँग संयुक्त साझेदारी गरेको छ।

पेईका अनुसार दुवै ब्रान्ड फरक मूल्य दायराका उत्पादन र फरक लक्षित ग्राहक समूहमा केन्द्रित छन्। “नथिङ केही विशेष र उच्च मूल्य श्रेणीमा पर्छ। सीएमएफ भने आम बजारका लागि हो। यो आम बजार भए पनि सस्तो मूल्यमा देखिने सामान्य रिब्रान्ड उत्पादन होइन। हामीले यी उत्पादनमा पनि उत्तिकै ध्यान दिएका छौं,” उनले भने।

भारत नथिङका लागि सबैभन्दा बलियो बजार बनेको छ। अनुसन्धान संस्था आईडीसीका अनुसार भारतमा नथिङको स्मार्टफोन बजार हिस्सा २ प्रतिशतभन्दा बढी छ। सन् २०२५ को दोस्रो त्रैमासमा कम्पनीको ढुवानी वार्षिक आधारमा ८५ प्रतिशतले बढेको र यो देशकै सबैभन्दा तीव्र वृद्धि गर्ने ब्रान्ड बनेको पनि उल्लेख गरिएको छ।

अन्य हार्डवेयर कम्पनीहरूले पनि भारतमा आकर्षक रिटेल स्टोर विस्तार गरिरहेका छन्। एप्पलले यसै महिना मुम्बईको उपनगर बोरिभलीमा आफ्नो छैटौं स्टोर खोल्ने तयारी गरेको छ।

यो लन्डनबाहिर नथिङको पहिलो स्टोर हो। कम्पनीको मुख्यालय लण्डनमा रहेको छ। स्टार्टअपले आगामी दिनमा टोक्यो र न्यूयोर्कमा थप दुई स्टोर खोल्ने योजना रहेको जनाएको छ तर समयसीमा भने खुलाएको छैन।

गत वर्ष कम्पनीले टाइगर ग्लोबलको नेतृत्वमा सिरिज सी चरणमा १.३ अर्ब डलर मूल्यांकनमा २० करोड डलर लगानी जुटाएको थियो। जीभी, हाइल्याण्ड यूरोप,ईक्यूटी, ल्याटिच्युड, १२बीएफ र टेपेस्ट्री लगायतका लगानीकर्ताहरू पनि सहभागी थिए। हालसम्म नथिङले कुल ४५ करोड डलर लगानी संकलन गरिसकेको छ।

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार