
काठमाडौं ।
यूट्युबले अन्ततः एप्पल भिजन प्रो का लागि समर्पित एप सार्वजनिक गरेको छ। हेडसेट सार्वजनिक भएको दुई वर्षपछि युट्युबले सुरुमा छुट्टै एप विकास नगरी वेब-आधारित उपाय रोजेको थियो र प्रयोगकर्तालाई सफारी मार्फत सामग्री हेर्न निर्देशन दिएको थियो।
त्यस कारण अफलाइन डाउनलोडजस्ता उपयोगी सुविधा उपलब्ध थिएनन्, जसले यात्रा वा इन्टरनेट नभएको अवस्थामा प्रयोगलाई सीमित बनाएको थियो।
यो खाली ठाउँ भर्नका लागि जुनोजस्ता तेस्रो-पक्ष एपहरू भिजनओएमा केही समय देखिएका थिए तर यूट्युबका सेवा सर्त उल्लंघन गरेको भन्दै हटाइएका थिए। नयाँ घोषणासँगै प्रयोगकर्ताले अब मानक भिडियो र यूट्युब शर्टस्सहितका सामग्री पूर्ण रूपमा इमर्सिभ वातावरणमा ठूलो भर्चुअल स्क्रिनमा हेर्न सक्नेछन्।
एपमा ‘स्पाटियल’ ट्याब समावेश गरिएको छ जसबाट प्रयोगकर्ताले थ्रीडी, भीआर१८० र ३६०-डिग्री जस्ता स्पेसियल भिडियोहरू खोज्न सक्छन्। एम५ चिपद्वारा सञ्चालित नयाँ भिजन प्रो मोडेलमा ८के प्लेब्याकसमेत समर्थन गरिएको छ जुन उल्लेखनीय सुधार हो। प्रयोगकर्ताले भिजनओएस एपमा जेस्चर कन्ट्रोल प्रयोग गरेर झ्याल साइज परिवर्तन गर्न वा भिडियो अगाडि–पछि सार्न पनि सक्नेछन्।
यो एपको सार्वजनिक समय पनि चासोपूर्ण मानिएको छ। हेडसेट सार्वजनिक भएपछि धेरै स्ट्रिमिङ सेवाहरूले सुरुदेखि नै डिज्नी प्लस, अमेजन प्राइम भिडियो,प्यारामाउन्ट प्लस र पीककजस्ता नेटिभ अनुभव उपलब्ध गराएका थिए।
यसबीच हेडसेटको प्रारम्भिक चर्चा विस्तारै घट्दै गएको देखिएको छ। फाइनान्सियल टाइम्सका अनुसार कमजोर मागका कारण उत्पादन रोकिएको थियो र प्रमुख बजारहरूमा मार्केटिङ गतिविधि पनि उल्लेखनीय रूपमा घटाइएको थियो।
२०२५ को चौथो त्रैमासमा करिब ४५ हजार नयाँ युनिट मात्र पठाइएको अनुमान गरिएको छ। यो एप अहिले भिजनओएस एप स्टोरमा उपलब्ध छ र एङ्ग२ तथा एम५ चिप भएका दुवै मोडेलसँग उपयुक्त रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार