
काठमाडौं ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले डिप फेक र एआइको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटा सामग्रीले बढावा पाइरहेकोले गम्भीर चुनौती थपिएको बताएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले संचार माध्यमहरू लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा नागरिक बीचको सन्देश वाहकको रूपमा स्थापित संस्थाहरू भएको चर्चा गर्दै कुनैपनि घटनाक्रम बारे सर्वसाधारणको पहिलो धारणा संचार माध्यम मार्फत नै निर्माण हुने हुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्य, तथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु अत्यन्त जरूरी रहेको बताए।
सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक भएर डिस इन्फर्मेसन हुने, डिप फेक र एआइको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटा सामग्रीले बढावा पाइरहेको कुरा हामी सबैको साझा चिन्ताको विषय रहेको उनले उल्लेख गरे। ‘आजको डिजिटल युगमा एआई र सामाजिक सञ्जालको दुरुपयोग साझा चिन्ताको विषय बनेको छ,’ उनले भने।
नेपाल प्रहरीले एआई तथा एडभान्स एनालिटिक्स सेल गठन गर्ने तयारी गरिरहेको पनि प्रहरी महानिरीक्षक कार्कीले जानकारी दिए।
यस प्रकारको गतिविधिहरूले अपराध अनुसन्धान, शान्ति सुरक्षा, सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र न्यायिक प्रक्रियामा समेत प्रत्यक्ष असर पार्ने भएको हुँदा यसको समाधानका उपाय र नीतिगत सुधारका विषयमा संयुक्त रूपमा गहिरो विश्लेषण र ठोस सुझाव निकाल्नु अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको बताए।
संचार माध्यम र प्रहरीहरूले आपसी सम्मान, निष्पक्षता, व्यवसायिकता, संस्थागत मर्यादा र आचार संहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने एवम् प्रहरी र सञ्चार माध्यमहरू दुवैको साझा लक्ष्य सत्यको खोजी गर्नु रहेकोले दुवै पक्ष बीच प्रभावकारी अन्तरक्रिया, अन्तर निकाय सहयोग, समन्वय र सुस्पष्ट सूचना आदान प्रदान हुनुपर्ने उनले जोड दिए।
कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले मिस इन्फर्मेसन, डिस इन्फर्मेसन र डिप फेकको सम्प्रेषणले राष्ट्र र समाजमा पार्ने असर एवम् समाधानका उपाहरू तथा यसको नियन्त्रणमा सञ्चारकर्मीको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त कार्यपत्र माथि टिप्पणी प्रस्तुत गरेका थिए।
यसैगरी अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले मिस इन्फर्मेसन, डिस इन्फर्मेसन र डिप फेकको सम्प्रेषणले उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, अपराध अनुसन्धानमा हुने प्रभाव एवम् समाधानका लागि अवलम्बन गर्नुपर्ने रणनीतिहरू सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
यसैगरी वरिष्ठ पत्रकार प्रतिक प्रधानले प्रस्तुत गरेको कार्यपत्र माथि सञ्चारकर्मीहरूको तर्फबाट टिप्पणी प्रस्तुत गरेका थिए।
सञ्चारकर्मीहरूलाई अपराध अनुसन्धान प्रक्रियाको बारेमा जानकारी प्रदान गर्नु, नेपाल प्रहरी र सञ्चार माध्यमबीच प्रभावकारी सहयोग आदान प्रदानको रूपरेखा स्थापित गर्ने, दुवै पक्षको आ-आफ्नो भूमिका, साझा चुनौती र नैतिक द्विविधा सम्बोधन गर्ने, अपराध अनुसन्धानमा सञ्चार माध्यमको भूमिका, सार्वजनिक धारणा साथै यसको प्रभावको विश्लेषण गर्ने एवम् अपराध अनुसन्धान र अनुसन्धानात्मक प्रक्रियामा सञ्चार माध्यमको प्रभाव पहिचान गर्ने यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाल प्रहरीले उल्लेख गरेको छ।
प्रकाशित: २६ माघ २०८२, सोमबार