
काठमाडौं ।
स्पेसएक्सले क्यालिफोर्नियाबाट स्टारलिङ्क उपग्रह प्रक्षेपण गर्दै फाल्कन ९ उडान पुनः सुरु गरेको छ।
अघिल्लो प्रक्षेपणमा देखिएको प्राविधिक समस्या पछि केही दिनका लागि उडान रोकेको स्पेसएक्सले शनिबार (फेब्रुअरी ७) पुनः अर्को समूहका स्टारलिङ्क उपग्रहहरू पृथ्वीको तल्लो कक्ष (एलईओ) मा सफलतापूर्वक प्रक्षेपण गरेको हो।
२५ वटा स्टारलिङ्क उपग्रह बोकेको फाल्कन ९ रकेट क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसस्थित स्पेस लन्च कम्प्लेक्स–४ इस्टबाट स्थानीय समय अनुसार दिउँसो १२:५८ बजे (पूर्वी समय ३:५८ बजे / २०:५८ जीएमटी ) उडाइएको थियो।
करिब एक घण्टापछि ग्रुप १७-३३ का उपग्रहहरू योजनाअनुसार कक्षामा तैनाथ गरिएको स्पेसएक्सले पुष्टि गरेको छ।
फाल्कन ९ को पहिलो चरण (बुस्टर १०८८) ले आफ्नो १३औँ उडान सफलतापूर्वक पूरा गर्दै प्रशान्त महासागरमा तैनाथ ड्रोन सिप “अफ कोर्स आई स्टिल लभ यू” मा सुरक्षित अवतरण गरेको छ।
रकेटको दोस्रो (अपर) चरणले पनि यस पटक अपेक्षाअनुसार काम गरेको स्पेसएक्सले जनाएको छ। यसअघि, फेब्रुअरी २ मा गरिएको स्टारलिङ्क प्रक्षेपणपछि उक्त मिशनको अपर स्टेजमा “अपेक्षित नभएको अवस्था” देखिएको थियो।
कम्पनीको वेबसाइटमा स्पेसएक्सका अधिकारीहरूले बताएअनुसार, योजनाबद्ध डिअर्बिट बर्नअघि ट्रान्सफर ट्युबमा ग्यासको बुलबुला बनेका कारण दोस्रो चरण पुनः प्रज्वलन हुन नसकेको स्पेस डटकमले उल्लेख गरेको छ।
त्यसपछि प्रणालीले डिजाइनअनुसार नै काम गर्दै स्टेजलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको थियो, जसले करिब १०.५ घण्टापछि दक्षिणी हिन्द महासागरमाथि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो।
स्पेसएक्सले सम्भावित कारण र त्यसको सुधारात्मक कदमहरू समेटिएको प्रतिवेदन संघीय उड्डयन प्रशासन (एफएए) मा बुझाएको थियो। यसै साता एफएएले कम्पनीलाई पुनः प्रक्षेपण सुरु गर्न अनुमति दिएको हो। उपग्रह ट्र्याकर जोनाथन म्याकडोवेलका अनुसार, स्टारलिङ्क मेगाकन्स्टेलेसनमा हाल ९,६०० भन्दा बढी सक्रिय उपग्रहहरू कक्षामा रहेका छन्।
प्रकाशित: २६ माघ २०८२, सोमबार