विश्वविद्यालय साइबर आक्रमणपछि यूरोपको ला सापिएन्जा केही दिनदेखि अफलाइन

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
विश्वविद्यालय साइबर आक्रमणपछि यूरोपको ला सापिएन्जा केही दिनदेखि अफलाइन

काठमाडौं ।

युरोपका ठूलामध्ये एकका रुपमा रहेको रोमस्थित ला सापिएन्जा विश्वविद्यालय साइबर आक्रमणपछि केही दिनदेखि अफलाइन भएको छ।

करिब १ लाख २० हजार विद्यार्थी रहेको युरोपको सबैभन्दा ठूलो विश्वविद्यालयमध्ये एक ला सापिएन्जाको कम्प्युटर प्रणाली तीन दिनदेखि बन्द छ। विश्वविद्यालयका अनुसार यो घटना सम्भावित र्यान्समवेयर आक्रमणका कारण भएको हो।

मंगलबार इन्स्टाग्राममा प्रकाशित पोस्ट र समाचारमार्फत विश्वविद्यालयले साइबर आक्रमणपछि सावधानीका रूपमा आफ्ना प्रणाली बन्द गरिएको, घटनाको अनुसन्धान भइरहेको र सबै डिजिटल सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको जनाएको छ। विश्वविद्यालयका अनुसार इमेल र वर्कस्टेसनजस्ता केही सञ्चार माध्यम “आंशिक रूपमा सीमित” अवस्थामा छन्।

विद्यालयले ह्याकबाट ब्याकअप प्रणाली प्रभावित नभएकाले ती ब्याकअपको आधारमा प्रणाली पुनःस्थापना गर्ने काम भइरहेको पनि जनाएको छ। यो समाचार लेखिँदासम्म ला सापिएन्जाको वेबसाइट अझै बन्द नै छ।

टेकक्रञ्चका अनुसार इटालीको दैनिक पत्रिका कोरियर डेला सेराले यो अवरोध र्यान्समवेयर आक्रमणका कारण भएको जनाएको छ। तर विश्वविद्यालय वा अन्य सरकारी निकायले अहिलेसम्म औपचारिक रूपमा यसलाई पुष्टि गरेका छैनन्। समाचारअनुसार ह्याकरहरूले विश्वविद्यालयलाई फिरौती माग गर्ने लिंक पठाएका थिए, जसमा ७२ घण्टाको काउन्टडाउन रहेको बताइएको छ। उक्त लिंक खोलिएपछि मात्र काउन्टडाउन सुरु हुने जनाइएको छ।

त्यो समयमा विश्वविद्यालयले इमेल स्वीकार गर्न सक्ने अवस्थामा थियो वा थिएन भन्ने स्पष्ट छैन।

घटनाको अनुसन्धान गरिरहेको इटालीको राष्ट्रिय साइबर सुरक्षा निकाय एसीएनका प्रवक्ताहरूले पनि थप जानकारी वा आक्रमण र्यान्समवेयरका कारण भएको हो वा होइन भन्ने प्रश्नमा तत्काल प्रतिक्रिया दिएका छैनन्। बुधबार प्रकाशित अर्को समाचारमा कोरियरले आक्रमण पछाडि “फेमवार०२” नामको ह्याकिङ समूह रहेको जनाएको छ जुन यस घटनाअघि अज्ञात थियो। समाचारअनुसार उक्त समूहले बाबलक नामको मालवेयर प्रयोग गरेको थियो, जसलाई २०२३ मा पत्ता लगाइएको थियो र रोर्साक नामले पनि चिनिन्छ।

ला सापिएन्जाले परीक्षा भने नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ। तर परीक्षा फारम भर्न चाहने विद्यार्थीले सम्बन्धित प्राध्यापकसँग सिधै सम्पर्क गर्नुपर्ने बताइएको छ। साथै विद्यार्थीलाई जानकारी दिन क्याम्पसका विभिन्न स्थानमा “इन्फोपोइन्ट” स्थापना गरिएको छ।

अन्य संस्थाजस्तै विश्वविद्यालय र विद्यालय पनि ह्याकरहरूको नियमित निशाना बन्ने गरेका छन्। गत वर्ष कुख्यात ह्याकिङ समूह शाइनीअन्टर्सले हार्भर्ड विश्वविद्यालय र पेन्सिलभेनिया विश्वविद्यालय ह्याक गरी डाटा चोरी गरेको थियो। उक्त घटनामा प्रणाली इन्क्रिप्ट नगरी विद्यालयलाई फिरौती दिन दबाब दिइएको थियो। यस हप्ता ह्याकरहरूले ती विश्वविद्यालयले फिरौती नतिरेको खुलासा गरेका छन्।

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार