
काठमाडौं ।
निर्वाचनमा हुने चुनावी प्रचार शैली विगतभन्दा अहिले फेरिएको छ । पर्चा, पम्प्लेट, ब्यानर, भित्तेलेखनलगायतको भाषण, कार्य हुने गरेकोमा अहिले प्रचार शैली फेरिएर सामाजिक सञ्जाल प्राथमिकतामा परेको छ।
फागुन २१ गते हुने चुनावका लागि मतदाताले मतदान गर्नका लागि आकर्षित पार्न तथा आफ्नो एजेन्डा सुनाउन सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म प्रयोग गर्न थालेका छन्।
विगतमा घरदैलो तथा भाषण प्रमुख गरी चुनावी प्रचार गरिएकोमा त्यो संस्कारलाई निरन्तरता दिए पनि प्रचार भने सामाजिक सञ्जाललाई नै आधार मानेको छ। फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक तथा नयाँ स्थापना भएका दल, स्वतन्त्र उम्मेदवार सबैको रोजाइ सामाजिक सञ्जाल बनेको छ।
नेकपा (एमाले) चितवनले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रको प्रचार गर्न प्रचार डेक्स स्थापना गरी सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको जिल्ला सचिव प्रकाश ढुङ्गानाले जानकारी दिए।
उनले भने, “अहिले सामाजिक सञ्जालको प्रयोग गाउँ गाउँमा छ। बालबालिकादेखि वृद्धसम्मले त्यही सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकमा आएको भिडियोको आधारमा धारणा बनाउने भएकाले पार्टीले पनि प्रचारमा सामाजिक सञ्जाल प्रयोग गर्न थालेको हो। हामीले जिल्लामा डेस्क स्थापना गरेर नै तीन वटै क्षेत्रमा भएका गतिविधिलाई मतदातामाझ पुऱ्याउन भिडियो तथा फोटो प्रयोग गरेका छौं। हाम्रा एजेन्डा सामाजिक सञ्जालमार्फत् पुर्याउँदै आएका छौं।’
नेपाली कांग्रेसका जिल्ला उपसभापति राजीव न्यौपानेले सबैभन्दा उपयुक्त माध्यम नै अहिले फेसबुक टिकटक भएकाले यसको प्रयोगमा जनशक्ति नै खटाएको जानकारी दिए।
तीन वटै निर्वाचन क्षेत्रमा भएका गतिविधि खिच्ने र सामाजिक सञ्जालमा राख्ने काम गरेको बताउँदै उनले सबै स्थानमा पुग्न नसक्ने भएकाले त्यसको माध्यमका रूपमा सामाजिक सञ्जाललाई लिएको बताए।
निर्वाचन क्षेत्र नं. १, २ र ३ मा भएका गतिविधि, उम्मेदवारको भनाइ, पार्टीका नेताको भनाइ, पार्टीको धारणा र प्रतिबद्धता सबै घरदैलोसँगै सञ्जालमा पनि प्रचार गरेको उनले जानकारी दिए।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला संयोजक रामचन्द्र अधिकारीले भने, “सबैको घरमा इन्टरनेट, हात हातमा मोबाइल छन्। मोबाइलबाटै देशभरिका चुनावी गतिविधि जनताले हेर्नुभएको छ। त्यसैले हामीले हाम्रो प्रचार पनि सामाजिक सञ्जाललाई पार्टीको आधार मानेका छौं।”
नेतृत्वले गरेको काम, योजना सबै विषय भिडियोमार्फत सञ्जालमा राखेको र सबैले घरमा बसेर आफ्नो अनुकूल समयमा हेर्न सकिने भएकाले यसको महत्त्व धेरै भएको संयोजक अधिकारीले बताए।
पार्टीका नेताको भूमिका सबै विषय छोटोमा जानकारी गराउनका लागि सामाजिक सञ्जाल उपयुक्त माध्यम बनेको उाको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भुसालले सामाजिक सञ्जाल अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँछन्।
उनले भने, ‘देशभरीका गतिविधि हामीले पार्टीको फेसबुक पेजमार्फत् जानकारी गराउँदछौं। पेजबाटै प्रत्यक्ष प्रसारण गर्छौं।’
आजको गोरखापत्रबाट
प्रकाशित: २३ माघ २०८२, शुक्रबार