काठमाडौं ।
गुगलले दर्जनौं लीकहरु र हल्लाहरू पछि अन्ततः पिक्सेल १०एको अस्तित्वलाई स्वीकार गर्दै बुधबार एउटा निकै छोटो टिजर भिडियो जारी गरेको छ।
भिडियोले विभिन्न कोणबाट फोनलाई चित्रण गर्दछ र पूर्ण घोषणा फेब्रुअरी १८ मा हुने खुलासा गर्दछ। साथै सोही समयदेखि गुगलले पिक्सेल १०ए को लागि प्रि–अर्डरहरू पनि लिन सुरु गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रयोगकर्ताहरुले पिक्सेल १०ए को लागि गुगलको टिजर साइटमा गएर आफ्नो इमेल दर्ता गर्न सक्ने उल्लेख गरिएको छ। त्यसो गरेको खण्डमा ग्राहकले गुगल स्टोरबाट पिक्सेल १०ए मा एक विशेष प्रस्ताव प्राप्त गर्ने बताइएको छ।
पिक्सेल १०ए मा १२०हर्ज रिफ्रेस रेट भएको ६.२८ इन्चको एफएचडी+ एएमओएलईडी स्क्रिन, ४८ मेगापिक्सेलको मुख्य क्यामरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड, १३ मेगापिक्सेलको सेल्फी क्यामरा, ८जीबीको र्याम र ५,१०० एमएएचको ब्याट्री हुने हल्ला चलिरहेको छ।
यो डिभाइस कथित रूपमा ओब्सिडियन, बेरी, फग र लेभेन्डर गरी चार रङ्गहरूमा उपलब्ध हुनेछन्। पिक्सेल १०ए मा पिक्सेल ९ए को जस्तै टेन्सर जी४ एसओसी प्रयोग गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्रकाशित: २३ माघ २०८२, शुक्रबार