
काठमाडौं ।
विश्वभरका १५० भन्दा बढी वैज्ञानिक, नोबेल पुरस्कार विजेता लगायतका निमन्त्रित सहभागीहरू दुबईमा आइतबारदेखि सुरु भएको ‘वर्ल्ड लरियट्स सम्मेलन’मा भेला भएका छन्। तीन दिनसम्म चल्ने यो सम्मेलनले मानवताका चुनौती समाधान गर्ने र सभ्यताको भविष्य निर्माण गर्ने विषयमा विचारविमर्श गर्ने उद्देश्य राखेको छ।
‘मूलभूत विज्ञानः मानवताका चुनौती समाधानका लागि वैज्ञानिक सहमति’ भन्ने विषयमा आयोजित सम्मेलन वर्ल्ड गभर्नेन्स सम्मेलन सन् २०२६ सँगै सञ्चालन भइरहेको छ। यसले वैश्विक नीति, आर्थिक प्रणाली र प्रविधि नवप्रवर्तनमा मूलभूत वैज्ञानिक अनुसन्धानको महत्वपूर्ण भूमिका उजागर गरेको छ।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, क्वान्टम विज्ञान, न्यानो प्रविधि, ऊर्जा र उन्नत सामग्री जस्ता क्षेत्रहरूमा छलफल हुने बताइएको छ ।
वर्ल्ड गभर्नेन्स सम्मेलनको उपाध्यक्ष ओमार सुल्तान अल ओलामाले भने, “वैज्ञानिक ज्ञान र निर्णय प्रक्रियालाई एउटै छानामुनि ल्याएर हामी मानव सभ्यताका उपलब्धिहरूको संरक्षण गर्ने र भविष्यका नीति निर्माणमा दिगो र प्रमाणमूलक प्रगतिका लागि मार्गनिर्देशन गर्ने विश्वसन्दर्भ निर्माण गर्न खोज्छौं।”
वर्ल्ड लरियट्स एसोसिएसनका अध्यक्ष तथा नोबेल विजेता रोजर कोर्नबर्गले सम्मेलनले वैज्ञानिकहरूलाई सभ्यता, समृद्धि र मानव प्रगतिका लागि दीर्घकालीन सोचमा प्रत्यक्ष योगदान गर्ने दुर्लभ अवसर प्रदान गरेको बताए।
जियाङमेन अन्डरग्राउन्ड न्युट्रिनो वेधशालाका मुख्य वैज्ञानिक वाङ यिफाङले भने, “मानव इतिहासका लगभग सबै प्रमुख चुनौती अन्ततः मूलभूत विज्ञानका प्रगतिबाट समाधान भएका छन्।”
सम्मेलनले वैज्ञानिक समुदायलाई खुला र सहयोगात्मक बनाइराख्दा, मानव प्रगति र साझा विकासका लागि योगदान सुनिश्चित गर्न सकिने वकिल गरिएको छ। रासस/सिन्ह्वा
प्रकाशित: १९ माघ २०८२, सोमबार