ओ२ र गिगाक्लियरले बेलायती ग्रामीण क्षेत्रमा अघि बढाए फाइभजी एसए र फुल-फाइबर विस्तार

  • Technology Khabar | १९ माघ २०८२, सोमबार
ओ२ र गिगाक्लियरले बेलायती ग्रामीण क्षेत्रमा अघि बढाए फाइभजी एसए र फुल-फाइबर विस्तार
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

ओ२ ले डोर्सेटका विभिन्न सहरहरूमा आफ्नो फाइभजी  स्ट्यान्डअलोन (फाइभजी  एसए) नेटवर्क सञ्चालनमा ल्याएको छ भने गिगाक्लियर ले ग्लोस्टरशायरमा फुल-फाइबर ब्रोडब्यान्ड विस्तार गरेको छ।

डोर्सेटभर करिब ३ लाख ८० हजार बासिन्दाले अब ओ२ को फाइभजी एसए नेटवर्क प्रयोग गर्न सक्ने भएका छन्। यसले छिटो र भरपर्दो मोबाइल कनेक्टिभिटीका साथै धेरै स्थानमा बलियो सिग्नल उपलब्ध गराउने दाबी गरिएको छ।

बोर्नमाउथ, पूल, डोर्चेस्टर, स्वानेज र क्राइस्टचर्चलगायत डोर्सेटका सहरहरूमा ओ२ को फाइभजी एसएसेवा सुरु भएको हो। यस क्षेत्र पर्यटकीय आकर्षणले भरिपूर्ण भएकाले राम्रो सिग्नल र उच्च गतिको इन्टरनेटले स्थानीय अर्थतन्त्रलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ओ२ का अनुसार हाल उसका फाइभजी  स्ट्यान्डअलोन नेटवर्क यूकेभर ५०० भन्दा बढी स्थानमा सञ्चालनमा छन्, जसले यसलाई देशकै सबैभन्दा ठूलो फाइभजी एसएनेटवर्क बनाएको छ। यही उपलब्धिका कारण यस साता प्रकाशित ओपनसिग्नलको अपरेटर र्‍याङ्किङ प्रतिवेदनमा पनि ओ२ लाई उल्लेख गरिएको छ।

यसैगरी अम्लट कनेक्टको मोबाइल नेटवर्क टेस्ट नामक अर्को बेञ्चमार्किङ प्रतिवेदनले ओ२ लाई युरोपकै ‘सबैभन्दा सुधारिएको मोबाइल नेटवर्क’को रूपमा सूचीकृत गरेको जनाएको छ।

ओ२ का मोबाइल एक्सेस इन्जिनियरिङ निर्देशक डा. रोबर्ट जोयसका अनुसार डोर्सेटमा सुरु गरिएको नयाँ फाइभजी  स्ट्यान्डअलोन नेटवर्कले स्थानीय बासिन्दा र व्यवसायका लागि महत्वपूर्ण सुधार ल्याउनेछ। उनले कम्पनीले दैनिक रूपमा नेटवर्क सुधारमा लगानी गरिरहेको र यसले भविष्यका नवप्रवर्तनका लागि मार्ग प्रशस्त गर्ने बताए।

यसैबीच वैकल्पिक नेटवर्क प्रदायक (अल्टनेट) गिगाक्लियर ले ग्लोस्टरशायरको केम्बल क्षेत्रमा आफ्नो पहिलो फुल-फाइबर ग्राहक जडान गरेको छ। यो सरकारी लगानीमा सञ्चालित ‘प्रोजेक्ट गिगाबिट’ अन्तर्गत पूर्वी ग्लोस्टरशायर क्षेत्रमा गरिएको विस्तारको एक महत्वपूर्ण चरण हो।

टेलिकम्सका अनुसार प्रोजेक्ट गिगाबिट सरकारको त्यो कार्यक्रम हो, जसले निजी क्षेत्रले नपुगेका ग्रामीण तथा दुर्गम क्षेत्रमा गिगाबिट-स्तरको ब्रडब्यान्ड विस्तार गर्न प्रोत्साहन गर्छ। यसअन्तर्गत यस वर्षको सुरुवातदेखि नै केम्बलसहित काउन्टीका १८ ग्रामीण क्षेत्रमा काम सुरु भएको जानकारी दिइएको छ।

केम्बल क्षेत्र ऐतिहासिक रूपमा कमजोर र अस्थिर ब्रडब्यान्ड सेवाबाट प्रभावित रहँदै आएको बताइएको छ। कोट्सवोल्ड्स क्षेत्रमा डिजिटल पूर्वाधारमा सुधार भए पनि फुल-फाइबर पहुँच राष्ट्रिय औसतभन्दा कम रहेको गिगाक्लियरले जनाएको छ। हाल कम्पनीले त्यहाँ ९०० एमबीपीएस सम्मको गतिको फुल-फाइबर सेवा उपलब्ध गराइरहेको छ।

गिगाक्लियरका प्रमुख कार्यकारी अधिकृत नाथन रन्डलका अनुसार केम्बलमा पहिलो ग्राहक जडान हुनु ग्रामीण ग्लोस्टरशायरमा रहेको डिजिटल विभाजन कम गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हो। उनले विगतमा उपेक्षित गाउँहरूमा आधुनिक जीवनसँग मेल नखाने इन्टरनेट सेवा रहेको र प्रोजेक्ट गिगाबिटमार्फत त्यो अवस्था परिवर्तन भइरहेको बताए।

उनका अनुसार भरपर्दो र तीव्र फुल-फाइबर उपलब्ध भएपछि घरबाटै काम गर्न, यात्रा कम गर्न र परिवार तथा समुदायसँग बढी समय बिताउन सहज हुनेछ, जसले स्थानीय व्यवसायलाई समेत सकारात्मक सहयोग पुर्‍याउनेछ।

यसअघि यसै साता ईईले पनि ग्रामीण कनेक्टिभिटी विस्तारबारे जानकारी दिँदै उत्तर–पश्चिम वेल्सको पेनमाख्नो क्षेत्रमा नयाँ सेल साइट स्थापना गरेको जनाएको थियो। यसबाट इन्टरनेट पहुँच नपाएका करिब ६ सय बासिन्दाले सेवा पाउन थालेका छन्। ईईका अनुसार पछिल्ला पाँच वर्षमा उसले १,८०० ग्रामीण स्थानमा आफ्नो नेटवर्क सुदृढ बनाइसकेको छ।

संख्यात्मक हिसाबले हेर्दा ग्रामीण पूर्वाधार विस्तारले ठूला सहरमा लाखौँ मानिसलाई सेवा दिने साना सेल साइट जडानजत्तिकै प्रभाव नदेखिन सक्छ। साथै यस्तो लगानी अपरेटरहरूका लागि तुलनात्मक रूपमा कम नाफामुखी पनि हुन सक्छ।

तर प्राकृतिक रूपमा कभर हुन नसकेका क्षेत्रहरूमा कनेक्टिभिटी पुर्‍याउने प्रयास आंशिक रूपमा राजनीतिक एजेन्डासँग पनि जोडिएको छ, जसको उदाहरण प्रोजेक्ट गिगाबिट हो। त्यसैले सेवा प्रदायकहरू आफूहरूले पनि योगदान दिइरहेको सन्देश दिन उत्सुक देखिन्छन्।

प्रकाशित: १९ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार