स्पेसएक्सले सौर्य–ऊर्जामा चल्ने १० लाख स्याटेलाइट ‘डाटा सेन्टर’ प्रक्षेपणका लागि माग्यो अनुमति

  • Technology Khabar | १९ माघ २०८२, सोमबार
स्पेसएक्सले सौर्य–ऊर्जामा चल्ने १० लाख स्याटेलाइट ‘डाटा सेन्टर’ प्रक्षेपणका लागि माग्यो अनुमति

काठमाडौं ।

अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले कृत्रिम बुद्धिमत्ता (एआई) का लागि डाटा सेन्टरको रूपमा काम गर्ने सौर्य–ऊर्जामा चल्ने १० लाखसम्म स्याटेलाइटहरू प्रक्षेपण गर्न संघीय सञ्चार आयोग (एफसीसी) सँग अनुमति मागेको छ।

एफसीसीमा दायर गरिएको निवेदनमा स्पेसएक्सले यी स्याटेलाइटहरूलाई “एआई कम्प्युटिङ क्षमताको तीव्र रूपमा बढ्दो माग पूरा गर्ने सबैभन्दा प्रभावकारी उपाय” का रूपमा वर्णन गरेको छ।

साथै कम्पनीले यस योजनालाई “सूर्यको सम्पूर्ण शक्ति उपयोग गर्न सक्ने “मानव जातिको बहुग्रहीय भविष्य सुनिश्चित गर्ने प्रयास” को रूपमा पनि प्रस्तुत गरेको छ।

तर द भर्जले १० लाख स्याटेलाइट प्रक्षेपणको प्रस्ताव सिधै स्वीकृत हुने सम्भावना कम रहेको र यो सम्भवतः एफसीसीसँगको वार्ताका लागि प्रारम्भिक प्रस्ताव मात्र हुन सक्ने तर्क गरेको छ।

हालै एफसीसीले स्पेसएक्सलाई थप ७,५०० स्टारलिंक स्याटेलाइट प्रक्षेपणको अनुमति दिएको भए पनि प्रस्तावित १४,९८८ उपग्रहको हकमा निर्णय स्थगित गरेको थियो।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का अनुसार हाल पृथ्वीको कक्षामा मानवनिर्मित करिब १५ हजार उपग्रह घुमिरहेका छन्। यिनले अन्तरिक्ष प्रदूषण र कक्षीय फोहोर जस्ता समस्या थप गम्भीर बनाइरहेको चिन्ता व्यक्त गरिएको छ।

यसैबीच रकेटको अभावलाई कारण देखाउँदै अमेजनले पनि १,६०० भन्दा बढी स्याटेलाइट कक्षामा पुर्‍याउने एफसीसीको समयसीमा विस्तार मागिरहेको छ।

यही पृष्ठभूमिमा स्पेसएक्सले आईपीओ अघि मस्कका अन्य कम्पनीहरू टेस्ला र एक्सएआई (जसले पहिले नै एक्ससँग विलय गरिसकेको छ) सँग सम्भावित विलयको विकल्पबारे छलफल गरिरहेको खबर पनि सार्वजनिक भएको छ।

 

प्रकाशित: १९ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार