
काठमाडौं ।
रोबोट्याक्सी कम्पनी वेमोले करिब १६ अर्ब अमेरिकी डलरको नयाँ लगानी चरण लगभग अन्तिम चरणमा पुर्याइसकेको फाइनान्सियल टाइम्स ले जनाएको छ। यस लगानीपछि कम्पनीको मूल्याङ्कन करिब ११० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
उक्त लगानीको तीन चौथाइभन्दा बढी हिस्सा अल्फाबेटबाटै आउने बताइएको छ। वेमो अल्फाबेटको सहायक कम्पनी हो र यसलाई सुरुमा अल्फाबेटको ‘मुनशट फ्याक्ट्री’ एक्स अन्तर्गत विकास गरिएको थियो।
फाइनान्सियल टाइम्सका अनुसार यो नयाँ लगानी चरणमा ड्र्यागोनियर, सेक्वोइया क्यापिटल र डीएसटी ग्लोबल नयाँ लगानीकर्ताका रूपमा जोडिँदै छन्। साथै पहिलेका लगानीकर्ता आन्द्रेसेन होरोविट्ज र अबु धाबीको सार्वभौम कोष मुबादाला पनि यस चरणमा सहभागी हुनेछन्।
वेमोका प्रवक्ताले निजी वित्तीय मामिलामा टिप्पणी नगर्ने बताउँदै भने, “हामीले २ करोडभन्दा बढी यात्राहरू पूरा गरिसकेका छौँ। अब हामी स्वचालित यातायातप्रति रहेको विशाल माग पूरा गर्न आवश्यक सुरक्षा–केन्द्रित सञ्चालन उत्कृष्टता र प्रविधिक नेतृत्वमा केन्द्रित छौँ।”
टेकक्रन्चका अनुसार कम्पनी तीव्र रूपमा विस्तार भइरहेको छ। हालै मियामीमा सेवा सुरु गरेको वेयमोले बजार विस्तार गरिरहँदा केही चुनौती पनि सामना गरेको छ। उदाहरणका लागि, सान फ्रान्सिस्कोमा भएको व्यापक विद्युत् अवरोधका बेला केही रोबोट्याक्सीहरू ट्राफिक लाइटमै अड्किएको घटना सार्वजनिक भएको थियो।
फाइनान्सियल टाइम्स का अनुसार, वेयमोको वार्षिक दोहोरिने आम्दानी ३५० मिलियन डलरभन्दा बढी छ। कम्पनीले पछिल्लोपटक सन् २०२४ मा ५.६ अर्ब डलरको सिरिज–सी लगानी उठाएको थियो, जसबेला यसको मूल्याङ्कन ४५ अर्ब डलर गरिएको थियो।
प्रकाशित: १८ माघ २०८२, आईतवार