
काठमाडौं ।
चीनले आफ्ना शीर्ष एआई स्टार्टअपमध्ये एक डिपसीकलाई एनभिडिया का एच२०० आर्टिफिसियल इन्टेलिजेन्स चिप्स खरिद गर्न सशर्त स्वीकृति दिएको छ। यससँग सम्बन्धित नियामक सर्तहरू अझै अन्तिम रूप दिइँदै रहेको विषयमा जानकारी भएका दुई स्रोतले रोयटर्सलाई बताएका छन्।
रोयटर्सले बुधबार स्रोतहरू उद्धृत गर्दै बाइटडान्स, अलिबाबा र टेन्सेन्ट लाई कुल ४ लाखभन्दा बढी एच२०० चिप्स खरिद गर्न अनुमति दिइएको खबर दिएको थियो।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले बिहीबार ताइपेईमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो कम्पनीले यस्तो स्वीकृतिसम्बन्धी जानकारी नपाएको बताए।
उनले चीनले अझै लाइसेन्स प्रक्रिया अन्तिम चरणमा पुर्याइरहेको आफूलाई विश्वास रहेको पनि उल्लेख गरे। डिपसीकलाई दिइएको स्वीकृतिबारे एनभिडियाले प्रतिक्रिया दिन रोयटर्सको अनुरोधमा उत्तर नदिएको रोयटर्सले उल्लेख गरेको छ।
स्रोतहरूका अनुसार चीनका उद्योग तथा वाणिज्यसम्बन्धी मन्त्रालयहरूले यी चारवटै कम्पनीलाई स्वीकृति दिएका छन्। तर ती स्वीकृतिसँगै लागू हुने सर्तहरू अझै तय हुँदैछन्। ती सर्तहरू चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) ले निर्धारण गरिरहेको एक स्रोतले जनाएको छ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय, वाणिज्य मन्त्रालय र एनडीआरसीले यस विषयमा गरिएको प्रतिक्रिया अनुरोधमा कुनै उत्तर दिएका छैनन्।
अमेरिकी प्रतिस्पर्धी ओपनएआईजस्ता कम्पनीहरूको तुलनामा निकै कम लागतमा एआई मोडेल विकास गरेर गत वर्षको सुरुवातमै विश्वव्यापी प्रविधि क्षेत्रमा हलचल मच्चाएको डिपसीकले पनि प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
एनभिडियाको दोस्रो सबैभन्दा शक्तिशाली एआई चिप मानिने एच२०० अमेरिका–चीन सम्बन्धमा ठूलो विवादको विषय बनेको छ। चिनियाँ कम्पनीहरूबाट उच्च माग र अमेरिकी सरकारको निर्यात स्वीकृतिका बाबजुद पनि चीनले आयात अनुमति दिन हिच्किचाहट देखाउँदा चिप आपूर्ति अवरुद्ध हुँदै आएको छ।
यसै महिनाको सुरुमा अमेरिकाले औपचारिक रूपमा एनभिडियालाई चीनमा एच२०० चिप बिक्री गर्न बाटो खुला गरेको थियो। चीनमा ती चिप्सप्रति उच्च माग देखिए पनि अन्तिम रूपमा आयात अनुमति दिने अधिकार चिनियाँ अधिकारीहरूसँग नै रहनेछ।
डिपसीकले एच२०० चिप्स खरिद गरेमा अमेरिकी सांसदहरूको कडा निगरानीमा पर्न सक्ने सम्भावना पनि छ। रोयटर्सले बुधबार एक वरिष्ठ अमेरिकी सांसदले एनभिडियाले डिपसीकलाई एआई मोडेल सुधार्न सहयोग गरेको र ती मोडेल पछि चिनियाँ सेनाले प्रयोग गरेको आरोप लगाएको उल्लेख गरेको थियो। सो आरोप अमेरिकी वाणिज्य सचिव होवार्ड लटनिकलाई पठाइएको पत्रमा गरिएको जनाइएको छ।
प्रकाशित: १७ माघ २०८२, शनिबार