
काठमाडौं ।
सुपर बाउल एलएक्सका लागि प्रशंसक र सञ्चारकर्मीहरू बे एरियातर्फ जुट्ने तयारी भइरहेका बेला अल्फाबेटको स्वामित्वमा रहेको वेमोले सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण रूपमा स्वायत्त रोबोट्याक्सी सेवा सुरु गरेको छ। बिहीबारदेखि वेमोले सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा चालकविहीन सवारी सेवा उपलब्ध गराउन थालेको हो।
इन्ग्याजेटका अनुसार हालका लागि भने सेवामा केही सीमाहरू छन्। प्रारम्भिक चरणमा सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट्याक्सी पहुँच “चयनित यात्रुहरू” मा मात्र सीमित गरिएको छ, जसलाई आगामी महिनाहरूमा क्रमशः विस्तार गरिने वेमोले जनाएको छ।
सुरुमा सेवा सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलरेन्टल कार सेन्टरमा मात्र यात्रु उठाउने र झार्ने (पिकअप र ड्रप–अफ) रूपमा सञ्चालन हुनेछ। कम्पनीका अनुसार भविष्यमा विमानस्थलका टर्मिनलसहित अन्य स्थानहरूमा पनि सेवा विस्तार गर्ने योजना छ।
सान फ्रान्सिस्को स्ट्यान्डर्डका अनुसार सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थल वेमोको तेस्रो विमानस्थल सेवा स्थल बनेको छ। यसअघि कम्पनीले फिनिक्स स्काइ हार्बर र सान होजे मिनेटा विमानस्थलमा रोबोट्याक्सी सेवा सुरु गरिसकेको छ। बे एरियामा वेयमोले हाल २६० वर्ग माइलभन्दा बढी क्षेत्रमा सेवा दिइरहेको छ।
यसैबीच, वेमो यस साता अर्को घटनाका कारण पनि समाचारमा आएको छ। कम्पनीका अनुसार जनवरी २३ मा क्यालिफोर्नियाको सान्ता मोनिकामा एक वेमो रोबोट्याक्सीले बालकलाई ठक्कर दिएको थियो, जसबाट बालक सामान्य घाइते भएको बताइएको छ।
उक्त घटनाको विषयमा अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए) ले छानबिन सुरु गरेको छ।
प्रकाशित: १७ माघ २०८२, शनिबार