मस्कका तीन कम्पनी स्पेसएक्स, एक्सएआई र टेस्ला एक आपसमा मर्जरका लागि छलफलमा

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
मस्कका तीन कम्पनी स्पेसएक्स, एक्सएआई र टेस्ला एक आपसमा मर्जरका लागि छलफलमा
फाइल तस्बिर

काठमाडौं ।

अर्बपति इलन मस्कका तीन कम्पनी स्पेसएक्स, एक्सएआई र टेस्ला संभावित मर्जरका लागि छलफलमा छन्। ब्लूमबर्ग र रोयटर्सका रिपोर्टअनुसार यी वार्ताहरू अहिले प्रारम्भिक चरणमै भए पनि अन्ततः कम्तीमा एउटा कम्पनी स्पेसएक्समा गाभिन सक्ने सम्भावना देखिएको छ।

हाल दुईवटा सम्भावित परिदृश्यमा छलफल भइरहेको छ। ब्लूमबर्गले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार पहिलो परिदृश्यमा स्पेसएक्स र टेस्लाबीच मर्जर हुन सक्छ। दोस्रो परिदृश्यमा भने स्पेसएक्स र एक्सएआई (जसको स्वामित्वमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ पनि पर्छ) गाभिन सक्छन्।

रोयटर्सको रिपोर्टअनुसार स्पेसएक्सको यस वर्ष हुने योजनाबद्ध आईपीओअघि नै स्पेसएक्स र एक्सएआईबीच मर्जर हुन सक्ने सम्भावना छ। यस्तो भएमा ग्रोक च्याटबोट, एक्स प्लेटफर्म, स्टारलिङ्क उपग्रह तथा स्पेसएक्सका रकेटहरू एउटै कर्पोरेट संरचनाअन्तर्गत आउनेछन्।

टेकक्रञ्चका अनुसार स्पेसएक्स र एक्सएआईका प्रतिनिधिहरूले सार्वजनिक रूपमा यस सम्भावनाबारे कुनै टिप्पणी गरेका छैनन्। तर जनवरी २१ मा नेभाडामा दर्ता भएका दुई नयाँ कर्पोरेट निकाय के२ मर्जर सब इंक. र के२ मर्जर सब २ एलएलसीले मस्कले सबै विकल्प खुला राखेको संकेत दिएको छ।

दुवै परिदृश्यका आ–आफ्ना फाइदा छन्। स्पेसएक्स र एक्सएआई एकसाथ आएमा एक्सएआईले आफ्ना डाटा सेन्टर अन्तरिक्षमा राख्न सक्ने बाटो खुल्न सक्छ, जुन मस्कले चाहेको लक्ष्य हो। त्यस्तै स्पेसएक्स–टेस्ला मर्जर भएमा टेस्लाको ऊर्जा भण्डारण व्यवसायलाई अन्तरिक्षमा आधारित डाटा सेन्टरको अवधारणासँग जोड्न सकिने देखिन्छ।

यी दुवै विकल्प—वा तीनवटै कम्पनीको संयोजन—मस्कका पछिल्ला गतिविधि र टिप्पणीसँग मेल खान्छन्, जहाँ उनले कम्पनीहरूलाई एकीकृत गर्ने वा कम्तीमा स्रोतहरू साझा गर्ने प्रयास गरिरहेका छन्।

वाल स्ट्रिट जर्नलका अनुसार गत वर्ष स्पेसएक्सले एक्सएआईमा २ अर्ब डलर लगानी गर्न सहमति जनाएको थियो। यसै हप्ता टेस्लाले पनि एक्सएआईमा २ अर्ब डलर लगानी गरेको खुलासा गरेको छ।

गत वर्ष एक्सएआईले एक्सलाई खरिद गरेको थियो जसमा मस्कका अनुसार एक्सएआईको मूल्यांकन ८० अर्ब डलर र एक्सको ३३ अर्ब डलर गरिएको थियो। सन् २००२ मा स्थापना भएको स्पेसएक्सले हालै गरेको सेकेन्डरी सेयर बिक्रीमा कम्पनीको मूल्यांकन ८०० अर्ब डलर पुगेको बताइएको छ, जसले यसलाई अमेरिकाकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनाएको छ।

फाइनान्सियल टाइम्सको पछिल्लो रिपोर्टअनुसार मस्कले स्पेसएक्सलाई जुन महिनामा सार्वजनिक गर्ने चाहना राखेका छन्। यद्यपि, मस्कका ठूला योजनाहरू प्रायः समयमै कार्यान्वयन नहुने इतिहास पनि छ।

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार