मेटाले भीआर मा गत वर्ष १९ अर्ब डलर घाटा बेहोर्‍यो, २०२६ मा पनि सुधार देखिँदैन

  • Technology Khabar | १५ माघ २०८२, बिहीबार
मेटाले भीआर मा गत वर्ष १९ अर्ब डलर घाटा बेहोर्‍यो, २०२६ मा पनि सुधार देखिँदैन
फाइल तस्बिर

काठमाडौं ।

यसै महिना मेटाले आफ्नो भर्चुअल रियालिटी (भीआर) इकाइ रियालिटी ल्याब्स का करिब १० प्रतिशत कर्मचारी हटाएको थियो, जसमा झन्डै १,००० जनासम्म रोजगारी गुमेको बताइएको छ। त्यससँगै सम्बन्धित देखिने अर्को घटनाक्रममा, कम्पनीले उक्त इकाइले गत वर्ष अर्बौँ डलर घाटा बेहोरेको खुलासा गरेको छ।

बुधबार सार्वजनिक गरिएको मेटाको आम्दानी प्रतिवेदनअनुसार, रियालिटी ल्याब्सले सन् २०२५ मा करिब १९.१ अर्ब डलर घाटा ब्यहोरेको छ, जुन सन् २०२४ को १७.७ अर्ब डलर घाटाभन्दा बढी हो। चौथो त्रैमासिकमा मात्र उक्त इकाइको घाटा ६.२ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख छ।

घाटा र आम्दानी तुलना गर्दा बिक्रीबाट आएको आम्दानी निकै कम देखिन्छ। रियालिटी ल्याब्सले चौथो त्रैमासिकमा ९५५ मिलियन डलर र सन् २०२५ भरि करिब २.२ अर्ब डलर आम्दानी गरेको थियो।

बुधबारको आम्दानीसम्बन्धी कन्फरेन्स कलमा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले भीआर टोलीप्रति आशावादी दृष्टिकोण व्यक्त गरे पनि सन् २०२६ मा पनि घाटा उस्तै रहने संकेत गरेका छन्।

“रियालिटी ल्याब्सका लागि हामी आगामी दिनमा चश्मा र वेयरेबल्सतर्फ बढी लगानी केन्द्रित गर्दैछौँ, साथै होराइजनलाई मोबाइलमा ठूलो सफलता बनाउने र भीआर लाई दीर्घकालमा नाफामूलक बनाउने लक्ष्यमा छौँ,” जुकरबर्गले भने। तर उनले घाटा तत्काल नरोकिने पनि स्वीकार गरे।

“यस वर्ष रियालिटी ल्याब्सको घाटा गत वर्षकै जस्तो हुने अपेक्षा गरेको छु,” उनले भने, “तर यही वर्ष घाटाको उच्च बिन्दु हुने र त्यसपछि बिस्तारै घट्नेछ।”

टेकक्रञ्चका अनुसार सन् २०२१ मा मेटाले ‘मेटाभर्स’तर्फ मोडिएको घोषणा गर्दा व्यापक शंका व्यक्त गरिएको थियो। भीआर प्रयासको पहिलो वर्षमै कम्पनी तीव्र आलोचनाको शिकार बनेको थियो, यहाँसम्म कि केहीले यसलाई ‘अन्तर्राष्ट्रिय हाँसोको पात्र’ समेत भनेका थिए। झन्डै पाँच वर्ष बितिसक्दा पनि त्यो शंका पूर्ण रूपमा हटेको छैन।

भीआर व्यवसायले निरन्तर घाटा बेहोर्दै जाँदा र मेटाले आक्रामक रूपमा भीआर बाट ध्यान हटाएर कृत्रिम बुद्धिमत्ता (एआई) तर्फ मोडिँदै जाँदा, यो कमजोर बन्दै गएको व्यवसायलाई के कुराले उकास्ने हो भन्ने अझै स्पष्ट छैन।

गत हप्ता सीएनबीसीले रिपोर्ट गरेअनुसार, कर्मचारी कटौतीसँगै मेटाले आफ्ना केही भीआर स्टुडियोहरू बन्द गर्ने योजना पनि बनाएको छ, जुन भर्चुअल रियालिटीप्रतिको चासो घट्दै गएको अर्को संकेत मानिएको छ।

यसका साथै कम्पनीले हालै आफ्नो वर्करुम्स नामक स्ट्यान्डअलोन एप पनि बन्द गर्ने घोषणा गरेको छ, जसलाई कार्यालय बैठकका लागि भीआर माध्यमका रूपमा प्रवर्द्धन गरिएको थियो।

प्रकाशित: १५ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार