फाइबरले ब्रोडब्यान्ड सदस्यता १.५६ अर्ब पुर्यायो, फिक्स्ड वायरलेस एक्सेस र स्याटेलाइट अझ छिटो बढ्दै

  • Technology Khabar | १५ माघ २०८२, बिहीबार
फाइबरले ब्रोडब्यान्ड सदस्यता १.५६ अर्ब पुर्यायो, फिक्स्ड वायरलेस एक्सेस र स्याटेलाइट अझ छिटो बढ्दै

काठमाडौं ।

गत वर्षको तेस्रो त्रैमासिकको अन्त्यसम्म विश्वभर १ अर्ब ५६ करोड (१.५६ बिलियन) स्थिर ब्रोडब्यान्ड सदस्यता पुगेको छ। यस वृद्धिमा विशेषगरी केही प्रमुख बजारहरूमा फाइबर ब्रोडब्यान्डको बढ्दो प्रयोगले ठूलो भूमिका खेलेको छ।

तर फाइबर ब्रोडब्यान्डले बजारमा प्रभुत्व जमाइरहँदा पनि नयाँ प्रविधिहरू—फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) र स्याटेलाइट ब्रोडब्यान्ड—ले अझ तीव्र वृद्धिदर देखाएका छन्। विश्लेषक संस्था पोइन्ट टपिकका नयाँ तथ्यांकहरूले यो देखाएका हुन्।

तेस्रो त्रैमासिकमा विश्वव्यापी स्थिर ब्रोडब्यान्ड सदस्यता १.४६ प्रतिशतले वृद्धि भएको छ, जुन ठूलो आधार भएको बजारका लागि राम्रो दर मानिन्छ। वास्तवमा पछिल्ला आठ त्रैमासिकमध्ये यो दोस्रो उच्च वृद्धिदर हो। यस अवधिमा २२.४ मिलियन नयाँ सदस्य थपिएका छन्।

टेलिकम्स डटकमका अनुसार पूर्ण फाइबर ब्रोडब्यान्ड (एफटीटीएच र एफटीटीबी) ले पछिल्लो १२ महिनामा ७.१ प्रतिशतले वृद्धि गर्दै आफ्नो बजार हिस्सा ७३ प्रतिशतभन्दा माथि पुर्‍याएको छ। यस क्रममा केबल, कपर, तथा एफटीटीएक्स-आधारित अधिकांश अन्य प्रविधिहरूको हिस्सा भने घटेको छ। तर स्याटेलाइट ब्रोडब्यान्ड र एफडब्लूए भने उल्लेखनीय अपवाद बनेका छन्।

हाल यी दुवै प्रविधि निकै चर्चामा रहेकाले तिनको बजार हिस्सा बढ्नु स्वाभाविक देखिन्छ। विशेषगरी एलईओ स्याटेलाइट अपरेटरहरू स्थिर ब्रोडब्यान्डको विकल्पका रूपमा आफ्ना सेवा आक्रामक रूपमा विस्तार गरिरहेका छन् भने केही बजारहरूमा एफडब्लूए, फाइभजीको महत्वपूर्ण प्रयोग क्षेत्रका रूपमा उभिँदै गएको छ।

तेस्रो त्रैमासिकको अन्त्यसम्म स्याटेलाइट ब्रोडब्यान्डको बजार हिस्सा ०.५२ प्रतिशत पुगेको छ, जुन तीन महिनाअघि ०.५ प्रतिशत थियो। प्रतिशतका हिसाबले सानो देखिए पनि बजारको आकार ठूलो भएकाले यसको अर्थ महत्वपूर्ण रहेको टेलिकम्स डटकमले उल्लेख गरेको छ। अझ चाखलाग्दो कुरा भनेको पछिल्लो १२ महिनामा स्याटेलाइट ब्रोडब्यान्ड ३८.२ प्रतिशतले वृद्धि हुनु हो।

त्यस्तै एफडब्लूएले पनि ३८.३ प्रतिशतको वार्षिक वृद्धि दर्ता गर्दै तेस्रो त्रैमासिकमा पहिलोपटक आफ्नो बजार हिस्सा ३ प्रतिशतभन्दा माथि (३.१५ प्रतिशत) पुर्‍याएको छ। भारत र अमेरिका यस क्षेत्रमा प्रमुख बजार बनेका छन्, जहाँ दुवै देशले तेस्रो त्रैमासिकमा १.२–१.२ मिलियन नयाँ एफडब्लूए ग्राहक थपेका छन्।

अमेरिकामा फाइबर र एफडब्लूए दुवैको विस्तार हुँदै जाँदा केबल ब्रोडब्यान्ड बजार दबाबमा परेको देखिन्छ। अमेरिका अझै पनि विश्वकै सबैभन्दा ठूलो केबल बजार भए पनि सदस्य संख्या घट्दो क्रममा छ। कमकास्ट र चार्टरजस्ता ठूला कम्पनीहरूले तेस्रो त्रैमासिकमा प्रत्येकले करिब १ लाख ग्राहक गुमाएका छन्।

“पुराना कपर तथा आंशिक कपर प्रविधिको गिरावट अपेक्षित भए पनि केही बजारहरूमा केबल/एचएफसी पनि बिस्तारै बाहिरिँदै गएको देखिन्छ,” पोइन्ट टपिकले जनाएको छ। अमेरिकाको अवस्था विशेष जोखिममा देखिएको उसले उल्लेख गरेको छ।

पोइन्ट टपिकका अनुसार, “द्रुत गतिमा फाइबर सञ्जाल विस्तार गरिरहेका टेलिकम कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो छ, त्यसमाथि भेरिजोन, टी-मोबाइल र एटीएण्डटीका फाइभजी एफडब्लूए गृह ब्रोडब्यान्ड सेवाहरू तीव्र रूपमा बढेका छन्।” ती कम्पनीहरूको ग्राहक संख्या वार्षिक रूपमा क्रमशः २८ प्रतिशत, ३३ प्रतिशत र १६८ प्रतिशतले बढेको छ।

भारतमा पनि फाइभजी एफडब्लूए जडानहरू वार्षिक रूपमा २३६ प्रतिशतले वृद्धि भएका छन्। रिलायन्स र भारती एयरटेल दुवैले आफ्ना फाइभजी एफडब्लूए विस्तारमा आक्रामक लगानी जारी राखेका छन्।

स्याटेलाइट ब्रोडब्यान्डमा पनि यस्तै प्रवृत्ति देखिएको छ, जहाँ केही ठूला बजारहरूले वृद्धिलाई अगाडि बढाइरहेका छन्। भारत पूर्ण रूपमा यस क्षेत्रमा प्रवेश गरेपछि यो वृद्धि अझ तीव्र हुन सक्ने अपेक्षा गरिएको छ। यद्यपि भारत सरकारले अझै स्याटेलाइट ब्रोडब्यान्डसम्बन्धी नियमहरू टुंग्याइरहेको छ, प्रमुख खेलाडी स्टारलिङ्क भने सेवा सुरु गर्न आतुर देखिएको छ।

पोइन्ट टपिकका अनुसार तेस्रो त्रैमासिकमा भएको स्याटेलाइट वृद्धिको ठूलो हिस्सा स्टारलिङ्ककै कारण हो। विश्लेषणमा समेटिएका बजारहरूमा स्टारलिङ्कका ग्राहक संख्या ६.२ मिलियन पुगेको छ।

तर कम्पनीले भने सन् २०२६ को सुरुतिर आफ्नो व्यावसायिक ग्राहक आधार ९.२ मिलियन पुगेको दावी गरेको छ। अमेरिकामा सबैभन्दा धेरै २.४ मिलियन ग्राहक छन् भने क्यानडामा ०.६ मिलियन, ब्राजिल र अर्जेन्टिनामा ०.४–०.४ मिलियन ग्राहक छन्।

ग्राहक संख्याको हिसाबले एफडब्लूए र स्याटेलाइट ब्रोडब्यान्ड अझै सीमित देखिए पनि, तीव्र वृद्धिदरले यी प्रविधिहरूको प्रभाव बढ्दै जाने स्पष्ट संकेत दिएको छ। आगामी दिनमा यी प्रविधिहरूले विश्वव्यापी ब्रोडब्यान्ड बजारमा अझ मजबुत उपस्थिति जनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...