कास्कीमा छ महिनामा साइबर अपराधका २ सय १३ ओटा उजुरी, अनलाइनमार्फत् १९ करोड ठगी

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
कास्कीमा छ महिनामा साइबर अपराधका २ सय १३ ओटा उजुरी, अनलाइनमार्फत् १९ करोड ठगी

काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्षको हालसम्म साइबर अपराधका २ सय १३ ओटा उजुरी परेका छन् भने उजुरी परेकामध्ये पीडित महिलाको संख्या १ सय २० रहेको छ।

यस्तै, अनलाइनमार्फत् विभिन्न प्रकृतिका ठगीका ६ सय ७ ओटा उजुरी परेका छन् । त्यसमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगीको दाबी गरिएको छ।

प्रहरीकाअनुसार, ‘छिटो नाफा हुने, चिठ्ठा परेको, अनलाइन सपिङको बहाना बनाउने वा विदेशबाट आएको पार्सल भन्सारमा रोकिएको’ भन्दै पैसा झिक्ने गिरोह सक्रिय छन्। सामाजिक सञ्जाल र दर्ता नभएका एप्समार्फत हुने यस्ता ठगी नियन्त्रण गर्नु चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ।

पोखरा उद्योग वाणिज्य सङ्घ र पोखरा जेसिजले मङ्गलबार संयुक्त रुपमा आयोजना गरेको अनलाइन स्क्याम तथा विभिन्न ठगीका प्रवृत्ति र त्यसबाट जोगिन अपनाउनुपर्ने उपायसम्बन्धी अन्तक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले आफैं सतर्क हुनुपर्ने बताए।

एसपी कार्कीका अनुसार ठगिनुको मुख्य कारण लोभ नै हो। “धेरैजसो घटना हेर्दा नपढेकाभन्दा पढेका मान्छे बढी फसेका छन्,” उनले भने, “तपाईँले गरेको लगानी वा नाफाको कुरा छिमेकीलाई पनि नबताउँदा अन्ततः ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ।”

प्रहरीले यस्ता उजुरीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही गर्दै आएको छ। जसमा कसूर प्रमाणित हुँदा ३ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ।

ओटीपी मागेर ठूलै रकम ठगी गर्नेहरुलाई चाहिँ प्रहरीले ठगी मुद्दामै कारवाही अगाडि बढाउँदै आएको जानकारी दिएको छ।

एसपी कार्कीले व्यक्तिका गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याउने र पटक–पटक पैसा असुल्ने प्रवृत्ति पनि उत्तिकै बढ्दो रुपमा रहेको दाबी गरे। उनका अनुसार यसरी पैसा गुमाउनेमा क्याम्पसका प्राध्यापकदेखि कर्मचारीसम्म रहेका छन्। व्यापारीहरु पनि ठगिएका उजुरी आउने गरेको उनले सुनाए।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगीबाट जोगिन प्रहरी–समुदाय हातेमालो र सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...