
काठमाडौं ।
यो महिनाको सुरुमा एप्पलले सिरीको नयाँ संस्करणलाई पावर दिन गुगलको जेमिनी मोडेलहरू छनोट गरेको खुलासा भएको थियो। अब एउटा नयाँ रिपोर्टले कम्पनीले अर्को महिनाको सुरुमा नै रिभ्याप्ड एसिस्टेण्ट (परिमार्जित सहायक) प्रदर्शन गर्न सक्ने सुझाव दिएको छ।
ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पलले फेब्रुअरीमा सम्भवतः महिनाको दोस्रो भागमा आफ्नो जेमिनी साझेदारीको नतिजा अनावरण गर्ने तयारी गरेको छ। कम्पनीले एक कार्यक्रम वा मिडिया ब्रीफिङ्गको क्रममा सिरीको नयाँ क्षमताहरू प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
अर्को महिना अनावरण हुने अपेक्षा गरिएको नयाँ एसिस्टेण्टले पर्सनल (व्यक्तिगत) डाटा प्रयोग गर्न र कार्यहरू गर्न अन–स्क्रिन कन्टेण्ट (सामग्री) बुझ्न सक्षम हुनेछ भनि गर्मनले टिप्पणी गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एप्पलले नयाँ सिरीलाई पावर दिन गुगलको जेमिनी मोडेलहरूमा भर पर्ने भए तापनि आन्तरिक रूपमा कम्पनीले यो मोडेललाई “एप्पल फाउन्डेसन मोडेल संस्करण १०” भनेर उल्लेख गरिरहेको रिपोर्टले उल्लेख गरेको छ। यो मोडेल एप्पलको आफ्नै निजी क्लाउड कम्प्युट सर्भरहरूमा होस्ट गरिएको छ। अपग्रेड गरिएको एसिस्टेण्ट आईओएस २६.४ सँग डेब्यू गर्न सेट गरिएको छ भने यो फेब्रुअरीमा बिटा परीक्षणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, एप्पलले डब्ल्यूडब्ल्यूडीसी २०२६ मा मात्र पूर्ण रूपमा परिमार्जित च्याटबोट–शैलीको सिरी अनावरण गर्नेछ। यो आईओएस २७ अपडेटमा समावेश गरिने भनिएको छ।
प्रकाशित: १५ माघ २०८२, बिहीबार