यूट्युब च्यानलको तौल घटाउने उपाय अनुसरण गर्दै रसायन सेवन गरेकी छात्राको मृत्यु भएपछि…

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
यूट्युब च्यानलको तौल घटाउने उपाय अनुसरण गर्दै रसायन सेवन गरेकी छात्राको मृत्यु भएपछि…
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

यूट्युब च्यानलबाट तौल घटाउने उपायको जानकारी लिएर बोरेक्स सेवन गरेपछि भारतको तमिलनाडु राज्यको मदुराइस्थित एक कलेजकी छात्राको मृत्यु भएको छ।

‘सिद्ध चिकित्सा’ अभ्यास गर्ने चिकित्सकहरूका अनुसार बोरेक्स एक विषालु पदार्थ हो र परम्परागत औषधि तयार गर्दा पनि यसको प्रयोग अत्यन्तै सानो मात्रामा मात्र गरिन्छ।

रसायनशास्त्रका प्राध्यापकहरूका अनुसार सामान्यतया बोरेक्स भनिने सोडियम बोरेट एउटा यस्तो रासायनिक पदार्थ हो जसको विषाक्तता कीटनाशकसरह हुन्छ।

यो घटनापछि एलोप्याथिक र सिद्ध चिकित्सकहरूले चिकित्सा उपचारसम्बन्धी यस्ता भ्रामक जानकारी फैलाउने यूट्युब च्यानलहरूमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्। मदुराइकी छात्राले सेवन गरेको औषधिलाई अंग्रेजीमा बोरेक्स नै भनिने बीबीसीहिन्दीले उल्लेख गरेको छ।

तर वास्तवमा बोरेक्स के हो? यसको सेवनले शरीरमा के–कस्ता असर पर्छन्? यसबारे बुझ्न बीबीसी तमिलले विभिन्न विज्ञहरूसँग कुरा गरेको छ।

प्रहरीले के भन्यो?

मदुराइको सेल्लूर क्षेत्रको मीनांबलपुरमकी स्थायी बासिन्दा कलैयारसी एक निजी कलेजमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्।
प्रहरीका अनुसार, “कलैयारसीको तौल केही बढी थियो। यूट्युब च्यानलमा गरिएको दावीका आधारमा उनले स्थानीय औषधि पसलबाट बोरेक्स किनेकी थिइन्। तौल घट्ने आशामा उनले यसको सेवन गरिन्।”

प्रहरीले जनाएको अनुसार बोरेक्स खाएको केही समयमै उनलाई तीव्र बान्ता हुन थाल्यो र उनी बेहोस भइन्। त्यसपछि उनलाई निजी अस्पताल लगियो, उपचारपछि घर फर्काइयो। तर राति फेरि अवस्था बिग्रिएपछि उनलाई मदुराइको सरकारी राजाजी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।

यस सम्बन्धमा सेल्लूर प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ र अनुसन्धान जारी छ। कलैयारसीका बुबा वेलमुरुगनले सञ्चारमाध्यमलाई बताएअनुसार उनले छोरीलाई यूट्युबको दावीका आधारमा स्थानीय औषधि किन्न र खान नदिन चेतावनी दिएका थिए।

बोरेक्स के हो?

कोयम्बटूरस्थित भरतियार विश्वविद्यालयका रसायनशास्त्र प्राध्यापक सेल्वराज भन्छन्, “सरल भाषामा भन्नुपर्दा, यो त्यही पाउडर हो, जुन क्यारम बोर्डमा प्रयोग गरिन्छ।” बीबीसी तमिलसँग कुरा गर्दै उनले भने, “यो अत्यन्तै मसिनो नुनजस्तै हुन्छ। सामान्यतया अनुहारमा लगाइने पाउडरमा सानो मात्रामा मिसाइन्छ।”

चेतावनी दिँदै उनले थपे, “हामी औषधिमा जिंक पनि सानो मात्रामा प्रयोग गर्छौं। तर यदि जिंक सिधै खाइयो भने, त्यसको असर ब्लीच जस्तै हुन्छ।” उनका अनुसार यो सोडियम बोरेट नामक रसायन हो, जसलाई सामान्य बोलचालमा बोरेक्स भनिन्छ। तर “यो कुनै पनि हालतमा खाने वस्तु होइन।”

प्राध्यापक सेल्वराज भन्छन्, “यसलाई शुद्धीकरण प्रक्रियामा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ। तर सिधै खानु हुँदैन। संक्षेपमा, यो कीटनाशकजस्तै रसायन हो।” चिकित्सक के. सिवारामनका अनुसार बोरेक्स पाउडर औषधि बनाउन प्रयोग गरिन्छ। उनले बीबीसीसँग भने, “मुखका छालाका लागि बाह्य औषधिको रूपमा पनि यसको प्रयोग हुन्छ।”

उनले स्पष्ट पारे, “‘सिद्ध चिकित्सा’ मा बोरेक्सलाई तौल घटाउने औषधिका रूपमा प्रयोग गरिँदैन। केवल गोली खाएर तौल घटाउन सकिँदैन।”
आयुष मन्त्रालयका अनुसार सिद्ध चिकित्सा भारतको एक प्राचीन उपचार पद्धति हो। के. सिवारामन भन्छन्, “व्यायाम र सन्तुलित आहार नै तौल घटाउने एकमात्र उपाय हो।”

सिद्ध चिकित्सक वीरबाबूले चेतावनी दिँदै भने, “केही सिद्ध औषधिमा बोरेक्स अत्यन्तै सानो मात्रामा मिसाइन्छ। तर यसलाई सिधै औषधिका रूपमा दिनु हुँदैन। शुद्धीकरण नगरी प्रयोग गर्नु अत्यन्तै खतरनाक हुन्छ।” उनका अनुसार बोरेक्स पनि एक प्रकारको विष हो, जुन शरीरका लागि हानिकारक छ।

“सामान्यतया मुख, दाँतको संक्रमण र मुखका छालाका लागि सानो मात्रामा प्रयोग गरिन्छ। तर बोरेक्स कुनै पनि हालतमा तौल घटाउने औषधि होइन,” उनले भने।

बोरेक्स खाँदा शरीरमा के असर पर्छ?

ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा ल्याप्रोस्कोपिक सर्जन डा. भी.जी. मोहन प्रसादका अनुसार, “अत्यन्तै सानो मात्रामा बोरेक्स सेवन गर्दा तत्काल ठूलो असर नपर्न सक्छ।” डा. मोहन प्रसाद भारतीय ग्यास्ट्रोएन्टेरोलोजी सोसाइटीका अध्यक्षसमेत हुन्।

उनले भने, “डाक्टरको सल्लाहमा शुद्ध बोरेक्स अत्यन्तै सानो मात्रामा लिइयो भने समस्या नहुन सक्छ। तर कुनै पनि उमेरको व्यक्तिले धेरै मात्रामा सेवन गर्‍यो भने यसको विष छिट्टै शरीरका आन्तरिक अंगसम्म फैलिन्छ र गम्भीर क्षति पुर्‍याउँछ। बान्ता, पखाला हुन्छ। केही अवस्थामा दौरा पनि पर्न सक्छ। समय भए पनि बिरामीलाई बचाउन कठिन हुन्छ।”

उनका अनुसार, “यदि कसैले गल्तीले बोरेक्स खायो भने एक घण्टाभित्र अस्पताल पुर्‍याइयो भने नली प्रयोग गरेर विष निकालेर ज्यान बचाउन सकिन्छ।” ढिलाइका परिणामबारे उनले भने, “बोरेक्सको विषाक्तताले आन्तरिक अंगहरू प्रभावित हुन्छन्। छोटो समयमै मिर्गौला फेल हुन सक्छ र आन्तरिक रक्तस्राव सुरु हुन्छ। समयमै उपचार भएमा विष शरीरबाट निकाल्न सकिन्छ।”

एलोप्याथिक र सिद्ध चिकित्सकहरू पछिल्लो समय यूट्युब हेरेर आफैं उपचार गर्ने प्रवृत्ति बढ्दो रहेको बतारउँछन्।

सिद्ध चिकित्सक वीरबाबूले भने, “सिद्ध चिकित्सा विधिको उचित अध्ययन र अनुसन्धान अनुभवबिनै, केही मानिसहरू यूट्युबमा आफूलाई प्राकृतिक चिकित्सक भन्दै जे–पायो त्यहीलाई औषधि वा खानेकुरा भनेर सिफारिस गरिरहेका छन्। सरकारले यस्ता च्यानलहरूलाई नियन्त्रण गर्नुपर्छ। जनताले यस्ता पोस्टहरूबाट सावधान रहन आवश्यक छ।”

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार