इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपमा प्रिमियम सब्स्क्रिप्सन परीक्षण गर्ने मेटाको तयारी

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपमा प्रिमियम सब्स्क्रिप्सन परीक्षण गर्ने मेटाको तयारी
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपमा प्रिमियम सब्स्क्रिप्सन सेवा परीक्षण गर्ने तयारी गरेको छ। कम्पनीले सोमबार दिएको जानकारीअनुसार नयाँ सब्स्क्रिप्सनमार्फत प्रयोगकर्तालाई विशेष फिचरहरू, बढी उत्पादकत्व र सिर्जनशीलतासँगै विस्तारित एआई क्षमता उपलब्ध गराइनेछ।

आगामी महिनाहरूमा मेटाले यी एपहरूमा कोर अनुभव निःशुल्क राख्दै, थप सुविधा चाहने प्रयोगकर्ताका लागि प्रिमियम अनुभव प्रदान गर्ने योजना बनाएको छ।

कम्पनी कुनै एक मोडेलमै सीमित नरहने संकेत गर्दै विभिन्न सब्स्क्रिप्सन फिचर र बन्डलहरू परीक्षण गर्ने बताउँछ। प्रत्येक एपको सब्स्क्रिप्सनमा फरक–फरक विशेष सुविधा रहनेछ।

टेकक्रञ्चका अनुसार मेटाले हालै करिब २ अर्ब डलरमा अधिग्रहण गरेको एआई एजेन्ट ‘म्यानस’ लाई पनि आफ्नो सब्स्क्रिप्सन योजनाको हिस्सा बनाउने जनाएको छ। म्यानसलाई मेटाका विभिन्न प्रोडक्टमा एकीकृत गर्ने र व्यवसायका लागि छुट्टै स्ट्यान्डअलोन सब्स्क्रिप्सनको रूपमा पनि बिक्री जारी राख्ने मेटाको योजना छ।

इन्स्टाग्राममा म्यानस एआईको सर्टकट थप्ने काम भइरहेको संकेतसमेत देखिएको छ जुन रिभर्स इन्जिनियर एलेस्यान्द्रो पालुज्जीले सार्वजनिक गरेका स्क्रिनसटबाट खुलेको हो।

यसका साथै मेटाले एआई फिचरका लागि पनि छुट्टै सब्स्क्रिप्सन परीक्षण गर्ने तयारी गरेको छ। त्यसमध्ये ‘भाइब्स’ नामको एआई–सञ्चालित भिडियो जेनेरेसन फिचर प्रमुख छ। भाइब्स मेटा एआई एपभित्र समावेश छोटो भिडियो अनुभव हो जसले प्रयोगकर्तालाई एआई–निर्मित भिडियो बनाउन र रिमिक्स गर्न अनुमति दिन्छ।

गत वर्षदेखि निःशुल्क उपलब्ध यो फिचर अब फ्रिमियम मोडेलमा जानेछ, जहाँ सीमित प्रयोग निःशुल्क र थप भिडियो सिर्जनाका लागि मासिक सब्स्क्रिप्सन आवश्यक पर्नेछ।

व्हाट्सएप र फेसबुकका प्रिमियम फिचरहरूबारे विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन। तर पालुज्जीका अनुसार इन्स्टाग्रामको नयाँ सब्स्क्रिप्सनले प्रयोगकर्तालाई अनलिमिटेड अडियन्स लिस्ट बनाउने, फोलो नगर्ने फलोअरहरूको सूची हेर्ने, तथा स्टोरी हेर्दा पोस्ट गर्ने व्यक्तिलाई जानकारी नपुग्ने विकल्प दिनेछ।

यी नयाँ सब्स्क्रिप्सनहरू मेटा भेरिफाइडभन्दा अलग हुनेछन्। मेटाले मेटा भेरिफाइडबाट सिकेका अनुभव प्रयोग गर्दै साधारण प्रयोगकर्ता, क्रिएटर र व्यवसायका लागि उपयोगी हुने थप सब्स्क्रिप्सन सेवा विस्तार गर्ने लक्ष्य राखेको बताएको छ।

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...