यौनजन्य तस्बिर उत्पादनको आरोपमा एआई च्याटबट ग्रोक माथि इयूको अनुसन्धान

  • Technology Khabar | १२ माघ २०८२, सोमबार
यौनजन्य तस्बिर उत्पादनको आरोपमा एआई च्याटबट ग्रोक माथि इयूको अनुसन्धान

काठमाडौं ।

युरोपेली सङ्घ (इयु) ले सोमबार इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सविरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको छ। यो अनुसन्धान एक्समा प्रयोग हुँदै आएको एआई च्याटबट ग्रोकले महिला तथा नाबालिगहरूको यौनिक डीपफेक तस्बिरहरू सिर्जना गर्न सक्ने विषयसँग सम्बन्धित रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमै आलोचना र चासो बढिरहेको अवस्थामा यो कदम चालिएको हो ।

प्रयोगकर्ताहरूले ‘उनलाई बिकिनीमा राख्नुहोस्’ वा ‘उनको लुगा हटाउनुहोस्’ जस्ता साधारण टेक्स्ट निर्देशनहरू प्रयोग गरेर महिला र बालबालिकाको तस्बिरलाई यौनिक रूपमा रूपान्तरण गर्न सक्ने तथ्य सार्वजनिक भएपछि ग्रोक तीव्र आलोचनाको घेरामा परेको थियो। यसले डिजिटल सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस विषयमा कडा धारणा राख्दै भनिन्, “युरोपमा हामी महिला र बालबालिकाको डिजिटल रूपमा अपमान गर्ने यस्ता अकल्पनीय व्यवहारलाई सहन सक्दैनौँ ।” उनले थप स्पष्ट पार्दै भनिन्, “यो विषय अत्यन्त सरल छ—प्रविधि कम्पनीहरूलाई सहमति र बाल संरक्षणका आधारभूत सिद्धान्त उल्लङ्घन गर्न र त्यसबाट मुनाफा कमाउन अनुमति दिइँदैन। अवैध तस्बिरहरूले निम्त्याउने क्षति वास्तविक र गम्भीर छ।”
इयुका प्रविधि आयुक्त हेना विर्कुनेनले डिजिटल सर्भिस एक्ट (डिएसए) अन्तर्गत एक्सले आफ्नो कानूनी दायित्व पूरा गरेको छ कि छैन भन्ने कुरा यो अनुसन्धानले स्पष्ट गर्ने बताएकी छन्। उनका अनुसार इयुमा महिला र बालबालिकाको अधिकार एक्सका सेवाहरूको ‘साइड इफेक्टको (अप्रत्यक्ष) क्षति’ बन्नु हुँदैन।
ब्रसेल्सले एक्सले इयुभित्र अवैध सामग्रीको प्रसारसँग सम्बन्धित जोखिमहरू—जसमा हेरफेर गरिएका यौन स्पष्ट तस्बिरहरू र बाल यौन दुव्र्यवहार सामग्री हुन सक्ने आशङ्का गरिएको सामग्री—लाई प्रभावकारी रूपमा कम गरेको छ कि छैन भन्ने विषयमा छानबिन भइरहेको जनाएको छ।
गैरनाफामूलक निगरानी संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सिसिडिएच) ले बिहीबार सार्वजनिक गरेको अनुसन्धानअनुसार ग्रोकले केही दिनमै महिला र बालबालिकासँग सम्बन्धित अनुमानित ३० लाख यौनिक तस्बिरहरू सिर्जना गरेको थियो। यही तथ्यले इयुको चासो झनै गहिरो बनाएको छ।
नयाँ अनुसन्धानको एक हिस्साका रूपमा इयुले अवैध सामग्री तथा सूचना हेरफेरको प्रसार नियन्त्रण गर्ने उद्देश्यले एक्समाथि पहिलेदेखि चलिरहेको अनुसन्धानको दायरा विस्तार गरिरहेको जनाएको छ। इलन मस्कको यो सामाजिक सञ्जाल प्लेटफर्म, जसलाई पहिले ट्विटरका नामले चिनिन्थ्यो, डिसेम्बर २०२३ देखि नै इयुको डिजिटल सामग्रीसम्बन्धी नियमहरू अन्तर्गत अनुसन्धानको लक्ष्यमा रहँदै आएको छ।
यसअघि डिसेम्बर महिनामा ब्रसेल्सले डिएसएको पारदर्शितासम्बन्धी दायित्व उल्लङ्घन गरेको ठहर गर्दै एक्सलाई १२ करोड युरो, अर्थात् करिब १४ करोड अमेरिकी डलर जरिवाना गरेको थियो। उक्त निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट तीव्र प्रतिक्रिया आएको थियो।
उल्लङ्घनका आरोपहरूमा प्रमाणित खाताहरूका लागि प्रयोग गरिएको ‘नीलो चेकमार्क’ को कथित रूपमा भ्रामक डिजाइन र अनुसन्धानकर्ताहरूलाई सार्वजनिक डेटामा पहुँच उपलब्ध गराउन असफलता जस्ता विषय समावेश थिए।
वासिङ्टनको दबाबका बाबजुद इयुले आफ्ना नियमहरू कडाइका साथ लागू गर्ने अडान दोहोर्‍याउँदै आएको छ। युक्रेन युद्ध, व्यापार विवाददेखि ग्रिनल्यान्डसम्बन्धी मुद्दासम्म विभिन्न मोर्चामा ट्रम्प प्रशासनसँग टकरावको अवस्था रहँदा प्रविधि नियमनसम्बन्धी यो विवाद थप चर्किएको देखिन्छ । रासस/एएफपी

प्रकाशित: १२ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...