
काठमाडौं ।
अर्थ सरोकार युट्युब च्यानल लगायतबाट बैङ्क तथा बितिय संस्थाहरूलाई लक्षित गरी सामाजिक सञ्जालहरूमा बैङ्कका कर्मचारीहरूलाई कुट्ने पिट्ने, भण्डारखाल जस्तो काण्ड मच्चाउनु पर्ने भन्ने जस्ता सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अभिव्यक्तिहरू दिएकोमा प्रहरीले एक जनालाई पक्राऊ गरी अनुसन्धान गरिरहेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीका अनुसार पक्राऊ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ घर भएका ईश्वरी प्रसाद संग्रौलाको छोरा नागरिक बचाउ महा-अभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक वर्ष ४४ का देवी प्रसाद संग्रौला रहेका छन्।
पक्राऊ परेका उनले उक्त अभिव्यक्तिको सत्यता सम्बन्धमा ब्यूरोमा उपस्थित भई प्रारम्भिक सोधपुछका क्रममा ‘कानुनी राज्यमा कानुनको उल्लङ्घन गरी बैङ्कका विरुद्धमा बोल्नु मेरो गल्ती हो, अबका दिनमा कानुनलाई शिरमा राखी सच्चिएर बोल्ने छु, अब आइन्दा समाज र राज्यलाई असर गर्ने अभिव्यक्ति दिने छैन, एक पटकको लागि नेपाल सरकारसँग क्षमा याचना चाहन्छु’ भनी लिखित कागज गरेकोले घटनाको अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामाग्रीहरू प्रसारित गर्नेहरुमाथि समेत निगरानी भइरहेको र यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने ब्यूरोले जनाएको छ।
प्रकाशित: ११ माघ २०८२, आईतवार