‘हरेक अदालतमा भिडियोमार्फत् बहस पैरवी’

  • Technology Khabar | ११ माघ २०८२, आईतवार
‘हरेक अदालतमा भिडियोमार्फत् बहस पैरवी’
तस्बिर: गोरखापत्र

काठमाडौं ।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले हरेक अदालतमा भिडियोमार्फत बहस पैरवी गराउने व्यवस्था गरिने बताएका छन्। शनिबार उच्च अदालत पोखरा इजलास बागलुङको भवन उद्घाटन गर्दै प्रधान न्यायाधीश राउतले अदालतलाई सूचना प्रविधिमा अब्बल बनाउने र अटोमेसन प्रणालीलाई अझै प्रभावकारी बनाउने जस्ता सुधारका योजना अगाडि बढाउने बताए।

उनले जस्तोसुकै विषम परिस्थितिमा पनि न्याय विचलित हुन नदिने कुरामा जोड दिए। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा आगजनी गरिएको उल्लेख गर्दै उनले भने, “अब अदालतको कामकारबाही अगाडि बढिसकेकाले आमनागरिकले न्यायको अनुभव पाउने छन्।”

उनका अनुसार जेनजी आन्दोलनमा जलेका २० हजार प्राप्त मिसिलमध्ये ११ हजार ८१९ मिसिल कानुन व्यवसायीमार्फत भइसकेका छन्। त्यसबाहेक झन्डै दुई हजार मिसिल सरकारी वकिल र अन्य सरकारी संयन्त्रबाटसमेत फिर्ता आएका छन्। भौतिक पूर्वाधार पुनर्निर्माणमा समय लागे पनि अब न्याय सम्पादन नियमित चल्न थालिसकेको प्रधान न्यायाधीश राउतको भनाइ थियो।

उच्च अदालत पोखरा इजलास बागलुङको निर्मित भवनमा चार इजलाससहित अत्याधुनिक प्रविधि जडान गरिएको छ। लिफ्टसहितको भवनमा आगलागी भएमा निभाउने प्रविधिदेखि खतराको सङ्केत गर्ने विधि जडान भएको रजिस्ट्रार रामबहादुर थापाले बताए।

कुल ५७ करोड ४२ लाख रुपियाँमा निर्माण गरेर भवन उचित समयमा हस्तान्तरण गरेकोमा सो अवसरमा ठेकेदार कम्पनीका प्रतिनिधि जयराम अर्याललाई सम्मान गरियो। यो अदालतले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला अदालतको माथिल्लो निकायका रूपमा काम गर्दै आएको मुख्य न्यायाधीश नातिबाबु लामिछानेले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: ११ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...