ग्रोकले ११ दिनमा २३ हजार बालबालिकाका सहित करिब ३० लाख यौनजन्य तस्बिर उत्पादन गर्‍यो:रिपोर्ट

  • Technology Khabar | १० माघ २०८२, शनिबार
ग्रोकले ११ दिनमा २३ हजार बालबालिकाका सहित करिब ३० लाख यौनजन्य तस्बिर उत्पादन गर्‍यो:रिपोर्ट

काठमाडौं ।

अर्बपति इलन मस्कको कम्पनी ग्रोकले ११ दिनमा २३ हजार बालबालिकाका तस्बिरसहित करिब ३० लाख यौनजन्य तस्बिर उत्पादन गरेको छ। एक्सले जनवरी १४ मा उक्त सुविधामा रोक लगाए पनि पनि ग्रोक एपले भने अझै वास्तविक व्यक्तिहरूका तस्बिरलाई “डिजिटल रूपमा नाङ्गो” बनाइरहेको बताइएको छ।

एक्सएआईको ग्रोकले एक्स प्लेटफर्ममा सहमतिविनाका यौनजन्य तस्बिरहरू व्यापक रूपमा फैलाइरहेको कुरा पहिले नै सार्वजनिक भइसकेको थियो।

तर अब त्यसको गम्भीरता देखाउने ठोस तथ्यांक पनि बाहिर आएको छ। ११ दिनको अवधिमा ग्रोक ले अनुमानित ३० लाख यौनजन्य तस्बिर उत्पादन गर्‍यो, जसमा करिब २३ हजार तस्बिर बालबालिकासँग सम्बन्धित थिए।

रोयटर्सका अनुसार यसलाई अर्को तरिकाले हेर्दा ग्रोकले ती ११ दिनमा प्रतिमिनेट औसत १९० वटा यौनजन्य तस्बिर उत्पादन गर्‍यो। तीमध्ये प्रत्येक ४१ सेकेन्डमा एकपटक बालबालिकाको यौनजन्य तस्बिर बनाइएको अनुमान गरिएको छ।

बिहीबार बेलायतस्थित गैरनाफामूलक संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच) ले आफ्नो अध्ययन सार्वजनिक गरेको हो। संस्थाले डिसेम्बर २९ देखि जनवरी ९ सम्म ग्रोक ले उत्पादन गरेका ४६ लाख तस्बिरमध्ये २० हजार तस्बिरको नमुना विश्लेषण गरेर यो अनुमान निकालेको हो।

अध्ययनमा “यौनजन्य तस्बिर” भन्नाले यौनजन्य मुद्रामा वा कोणबाट देखाइएका मानिसका फोटोरियलिस्टिक चित्र, अन्तर्वस्त्र, स्विमवेयर वा अत्यधिक खुला पहिरनमा देखाइएका व्यक्ति, वा यौनजन्य तरल पदार्थ देखिने तस्बिरलाई जनाइएको छ। सीसीडीएचले ती तस्बिर कुन किसिमको प्रम्प्टबाट बनाइएका हुन् भन्ने आधारमा छुट्याएको छैन, अर्थात् वास्तविक तस्बिरलाई सम्पादन गरेर बनाइएका र केवल टेक्स्ट प्रम्प्टबाट सिर्जना गरिएका तस्बिर छुट्याइएको छैन।

सीसीडीएचले यौनजन्य तस्बिरको अनुपात पहिचान गर्न एआई टुल प्रयोग गरेको थियो, जसले नतिजामा केही सावधानी आवश्यक हुनसक्ने देखाउँछ। तर एक्स का धेरै तेस्रो-पक्ष एनालिटिक्स सेवाहरू प्लेटफर्मको एपीआई प्रयोग गर्ने भएकाले तिनको डाटा भरपर्दो हुने बताइएको छ।

जनवरी ९ मा एक्सएआईले ग्रोकको तस्बिर सम्पादन गर्ने सुविधा केवल भुक्तानी गर्ने प्रयोगकर्तामा सीमित गर्‍यो। पाँच दिनपछि एक्सले वास्तविक मानिसलाई डिजिटल रूपमा नाङ्गो बनाउने क्षमता पनि सीमित गर्‍यो। तर यो प्रतिबन्ध केवल एक्सभित्र लागू भयो। छुट्टै ग्रोक एपले भने अझै यस्ता तस्बिर उत्पादन गरिरहेको बताइएको छ।

प्रकाशित: १० माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...