क्यानडामा अदालतले दियो हाललाई टिकटक सञ्चालन गर्ने अनुमति

  • Technology Khabar | ८ माघ २०८२, बिहीबार
क्यानडामा अदालतले दियो हाललाई टिकटक सञ्चालन गर्ने अनुमति
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

क्यानडाको संघीय अदालतले बुधबार टिकटकको क्यानडाली सञ्चालन बन्द गर्न सरकारले दिएको आदेश उल्ट्याउँदै छोटो–भिडियो एपलाई हालका लागि सञ्चालन जारी राख्न अनुमति दिएको छ। साथै अदालतले यस विषयमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ।

सन् २०२४ को नोभेम्बरमा क्यानडाको उद्योग मन्त्रालयले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमको हवाला दिँदै टिकटकको क्यानडाली व्यवसाय विघटन गर्ने आदेश दिएको थियो।

रोयटर्सका अनुसार सरकारले प्रयोगकर्ताको पहुँच नै नरोकेको र सामग्री सिर्जना गर्ने क्षमतामा अवरोध नहुने स्पष्ट पारेको थियो। क्यानडामा मासिक १ करोड ४० लाखभन्दा बढी प्रयोगकर्ता रहेको दाबी गर्ने टिकटकले उक्त निर्णयविरुद्ध अपिल गरेको थियो।

संक्षिप्त फैसलामा संघीय अदालतका न्यायाधीश रसेल जिन्नले उक्त आदेश रद्द गर्दै मामिलालाई उद्योग मन्त्री मेलानी जोलीकहाँ पुनरावलोकनका लागि फिर्ता पठाएका छन्। तर उनले यस निर्णयको कारण भने उल्लेख गरेका छैनन्।

उद्योग मन्त्रालयले मन्त्री जोलीले “नयाँ राष्ट्रिय सुरक्षा समीक्षा प्रक्रिया अघि बढाउने” जनाएको छ। कानुनी गोपनीयताका कारण थप टिप्पणी गर्न नसकिने पनि मन्त्रालयले बताएको छ।

टिकटकले विज्ञप्ति जारी गर्दै अदालतको निर्णयको स्वागत गरेको छ र मन्त्री जोलीसँग सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। यसैबीच, अमेरिकी ट्यारिफका कारण क्यानडाली अर्थतन्त्रमा परेको असरलाई सन्तुलनमा ल्याउन प्रधानमन्त्री मार्क कार्नीले चीनसँग नजिकको सम्बन्ध विस्तार गर्ने प्रयास गरिरहेका छन्।

क्यानडा तथा अन्य देशहरूले चीनले टिकटकमार्फत प्रयोगकर्ताको डेटा संकलन गर्न वा आफ्ना हित अघि बढाउन सक्ने चिन्ताका कारण एपमाथि कडा निगरानी गर्दै आएका छन्। टिकटकचिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ।

गत सेप्टेम्बरमा गरिएको अनुसन्धानले बालबालिकालाई प्लेटफर्मबाट टाढा राख्ने र व्यक्तिगत जानकारी सुरक्षित गर्ने प्रयास पर्याप्त नभएको ठहर गरेपछि टिकटकले क्यानडामा आफ्ना वेबसाइट र एपमा बाल सुरक्षा उपायहरू सुदृढ गर्ने सहमति जनाएको थियो।

प्रकाशित: ८ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार