
काठमाडौं ।
चीनको ‘शेनझोउ–२०’ अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको भित्री मङ्गोलिया क्षेत्रमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेको छ। उक्त यानमा कुनै पनि अन्तरिक्ष यात्री सवार थिएनन्।
‘शेनझोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत तयार गरिएको एक अन्तरिक्ष यान हो, जसलाई अन्तरिक्ष यात्री र सामग्री अन्तरिक्ष स्टेशनसम्म लैजान तथा फिर्ता ल्याउन प्रयोग गरिन्छ।
यो यान जिउछ्वान प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो र अन्तरिक्ष स्टेशनसँग सफलतापूर्वक जोडिएको थियो।
शेनझोउ–२० ले लामो समयसम्म अन्तरिक्षमा बसेर अनुसन्धान, परीक्षण तथा आपतकालीन तयारीसम्बन्धी कामहरू सम्पन्न गर्यो। अन्तरिक्षको फोहोरसँग ठोक्किएको आशङ्कापछि केही समय कक्षमै राखिएको यस यानले करिब २७० दिन अन्तरिक्षमा बिताएर सुरक्षित रूपमा पृथ्वीमा फर्केर चीनको अन्तरिक्ष प्रविधि र आपतकालीन क्षमताको सफल परीक्षण गरेको छ। रासस/सिन्ह्वा
प्रकाशित: ५ माघ २०८२, सोमबार